विराटनगर । नेपाल स्टिल विलेट उत्पादक संघले अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार संसदमा प्रस्तुत गर्नु भएको बजेट प्रतिस्थापन विधेयकमा स्पन्ज आइरन र तयारी स्टिल विलेटको करमा ४.७५ प्रतिशतको अन्तर कायम गरेकोप्रति स्वागत गरेको छ । संघले सरकारले ल्याएको प्रतिस्थापन विधेयक सकारात्मक रहेको भन्दै स्वागत गरेको हो ।
विगत ३ वर्षदेखिको आफूहरुको माग ढिलोगरि सरकारले आंशिक सम्बोधन गरेको भन्दै संघले यसको विरोधको अर्थ नरहेको समेत जनाएको छ । जगदम्बा स्टिल, पशुपति टिएमटी, सर्वोत्तम, स्वस्तीकलगायतका आइरन तथा रोलिङ मिल सञ्चालकहरुले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै स्पन्ज आइरन र तयारी विलेटको भन्सार दरमा १० प्रतिशतले भिन्नता कायम गर्नुपर्ने माग गरेका थिए । नेपाल स्टिल विलेट उत्पादक संघको नामबाट प्रकाशित विज्ञप्तिमा ‘नेपाल स्टील रोलिङ मिल्स एसोसिएसन’कोे नाममा सरकारको निर्णयको विरोध भएकोप्रति असन्तुष्टि जनाइएको छ । गलत व्याख्या गरी भ्रम फैलाउने काम गरेको भन्दै सरकारको कदमको बचाउ गरिएको हो ।
नेपालमा अहिले ९ वटा स्टिल विलेट उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा रहेको र ३ वटा थप उद्योगहरु स्थापनाको क्रममा रहेको भन्दै उनीहरुले यी उद्योगले मुलुकको ६० प्रतिशत माग धान्ने दावी गरेका छन् । उनीहरुले अन्य उद्योगले पनि ९ महिनाभित्र नयाँ प्लान्ट राख्न सक्ने भएकोले सरकारी नीतिको विरोध गर्नु आवश्यक नरहेको जिकिर गरेका छन् ।
स्पन्ज आइरनबाट विलेट बनाउने प्रक्रिया चुनढुंगाबाट किलंकर बनाउनु जस्तै हो भन्दै संघले यसबाट देशभित्रै विलेट उत्पादन भई विलेट आयात प्रतिस्थापन हुने बताएको छ । अहिले विलेटमा रु.२.५० प्रतिकेजी अन्तःशुल्क लागेको र फलामे छड (डण्डी) उत्पादनमा पहिलेको रु.१.६५ प्रतिकेजी घटाउँदा कूल रु.०.८५ (प्रतिकेजी पचासी पैसा) मात्र वृद्धि भएको भन्दै संघले बंगलादेश, पाकिस्तानलगायतका मुलुकमा विलेट तथा स्पन्ज आइरनको आयात भन्सार दर १० देखि ३२ प्रतिशतसम्मको अन्तर रहेकोले नेपालमा पनि १० प्रतिशत कायम गर्नुपर्ने संघको माग छ ।
स्पन्ज आइरनबाट विलेट उत्पादन गर्ने देशभित्रकै प्रतिष्ठित र नाम चलेका उद्योगहरु रहेकोले गुणस्तरमा कुनै सम्झौता नहुने भन्दै संघले स्पन्ज आइरनबाट उत्पादित विलेटको गुणस्तर र आयातित विलेट (जुन स्पन्ज आइरनबाट नै बन्दछ) को गुणस्तरमा फरक हुने तर्क हाँस्यास्पद रहेको जिकिर गरेको छ । हाल नेपालमा उत्पादित विलेटबाट नै ५०० डि डण्डी उत्पादन भइरहेको र उल्टो स्पन्ज आइरनबाट विलेट उत्पादन गर्दा विलेटको गुणस्तर वृद्धि गर्ने एलआरएफ जस्ता प्रविधिसमेत नेपालमा आइसकेको संघले जनाएको छ ।
स्पन्ज आइरनबाट विलेट बनाउँदा थप कम्तीमा २० हजारले रोजगारी पाउने र विद्युत् खपत ३०० देखि ५०० मेगावाटले बढ्ने भएकोले त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने संघले जनाएको छ । यो व्यवस्थाले आयात प्रतिस्थापन भई कम्तीमा वार्षिक ४० अर्ब वैदेशिक मुद्राको बचत हुने र फर्नेस आयलको आयातसमेत वार्षिक २ अर्बले घट्ने संघको दावी छ ।
संघले सार्वजनिक गरेका ११ बुँदाहरु निम्न छन् ः
१) हाल देशमा ९ वटा स्टिल विलेट उत्पादन गर्ने उद्योगहरु संचालित रहेका र ३ वटा थप उद्योगहरु स्थापनारत छन् । स्पन्ज आइरनबाट विलेट उत्पादन गर्नेहरुको हालको उत्पादन क्षमताले डण्डी उत्पादनको ६० प्रतिशत मात्र धान्ने र यस्ता नयाँ उद्योग लगाउन भइरहेको रोलिङ मिललाई बढीमा ९ महिला लाग्ने हुन्छ ।
२) स्पन्ज आइरनबाट विलेट बनाउने भनेको चुनढुंगाबाट किलंकर बनाउने जस्तो प्रक्रिया रहेको, यसबाट देशभित्रै विलेट उत्पादन भई विलेट आयात प्रतिस्थापन हुनेछ ।
३) हाल विलेटमा रु. २.५० प्रतिकेजी अन्तशुल्क लागेको र फलामे छड (डण्डी) उत्पादनमा पहिलोको रु.१.६५ प्रति केजी घटाउँदा कूल मूल्य फरक रु.०.८५ (प्रतिकेजी पचासी पैसा) मात्र वृद्धि भएको छ । यस्तै बंगलादेश, पाकिस्तानलगायतका सार्क देशहरुमा समेत विलेट तथा स्पन्ज आइरनको आयात भन्सार दरमा कम्तीमा १० प्रतिशत देखि बढीमा ३२ प्रतिशत सम्मको भिन्नता कायम रहेकोले समेत यो भिन्नता थप बढाई कम्तीमा १० प्रतिशत कायम गर्नु उपर्युक्त हुन्छ ।
४. स्पन्ज आइरन भन्नाले कच्चा फलाम भएको र स्टिल विलेट भन्नाले तयारी फलाम भएकोले दुवै कच्चा पदार्थ नभएको र ठूलो भिन्नता रहेको छ । डब्लुटिओको परिभाषाले समेत स्पन्ज आइरन, पिङ आइरन वरे भन्नाले आइरन फर्ममा रहेका कच्चा फलामलाई बुझाउँछ भन्ने स्टिल भन्नाले १६०० डिग्री तापक्रम पछिको पक्का फलाम भन्ने बुझिन्छ ।
५) स्पन्ज आइरनबाट विलेट उत्पादन गर्ने उद्योगहरु समेत देश भित्रकै उद्योग रहेका र हाल आयात हुने विलेटसमेत भारतमा यसैबाट बन्ने भएकोले गुणस्तरमा कुनै भिन्नता नहुने जानकारी गराउँदछौं । यसबाट उत्पादित विलेटको गुणस्तर र आयातित विलेट (जुन स्पन्ज आइरनबाट नै बन्दछ)को गुणस्तरमा फरक हुने हास्यास्पद तर्क पेश गरिएको छ ।
६) हाल नेपालमा उत्पादित विलेटबाट नै ५०० डि डण्डी उत्पादन भइरहेको र उल्टो स्पन्ज आइरनबाट विलेट उत्पादन गर्दा विलेटको गुणस्तर वृद्धि गर्ने एलआरएफ जस्ता प्रविधि समेत नेपालमा आइसकेको जानकारी गराउँदछौं ।
७) पत्रु पगालेर डण्डी उत्पादन गर्दा हुने पर्यावरणको लागि नयाँ उद्योगले इआइए समेत गराएका तथा धुवाँ नियन्त्रणको लागि अत्याधुनिक इएसपी प्रविधि जडान भएका उद्योगहरु नै चलेका हुन् । चीन र भारतमा यस्तो प्रविधिको प्रचलनबाट नै ८० प्रतिशत डण्डी उत्पादन भइरहेको जानकारी गराउँदछौं ।
८) स्पन्ज आइरनबाट विलेट बनाउँदा यो प्रक्रियाबाट थप कम्तीमा २० हजार रोजगारी बढ्ने र विद्युत् खपत ३०० देखि ५०० मे.वा.ले बढ्न जाने हुन्छ । उद्योग संचालन गर्ने ५ प्रतिशत मात्र माथिल्लो तहका भारतीय नागरिकको आवश्यकता पर्ने हुन्छ । साथै यो व्यवस्थाले आयात प्रतिस्थापन भई कम्तीमा वार्षिक ४० अर्ब वैदेशिक मुद्राको बचत हुनेछ । फर्नेस आयल आयात समेत वार्षिक २ अर्बले घट्नेछ ।
९) क्लिंकर उत्पादन बढ्न थालेपछि थप लगानीको क्षेत्र खुले जस्तै यो व्यवस्थाले थप लगानीको बाटो खोल्ने र बैंक तथा वित्तीय संस्थालाई समेत औद्योगिक क्षेत्रमा लगानी बढ्ने छ ।
१०) यस विधेयकले गर्दा हाल संचालित ९ वटा र ६ महिनाभित्र उत्पादन हुने थप ३ वटा उद्योगलाई बाँच्न सक्ने वातावरण तयार भएको छ । हाल संचालित रोलिङ मिलले समेत विलेट उत्पादन प्रक्रियामा लागेमा ६ देखि ९ महिनामा विलेट उत्पादन गर्न सक्नेछन् ।