बिराटनगर , २६ भदौ / जङ्गली च्याउ खाँदा इलाम शान्तिडाँडाका एकै परिवारका चारजना बिरामी परेका छन् ।
बिहान खानासँगै च्याउ खाएका शान्तिडाँडा– ६ का बाबु ५० वर्षीय काजीमान राई, ५२ वर्षीया उनकै श्रीमती फूलमाया, छोरा १८ वर्षीय सन्दीप र १३ वर्षीया छोरी सञ्जिता बिरामी परेका हुन् ।
खानासँगै च्याउ खानेबित्तिकै बिरामी परेका उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जङ्गलबाट गोब्रे च्याउ खाएर बिरामी परेको स्थानीय हर्कबहादुर राईले बताउनुभयो । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल ल्याए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि झापातर्फ लगिएको छ । रासस