विराटनगर।
आकृति रानी फुयल।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको समावेशी विकासका लागि नि: शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ | जस अन्तर्गत महानगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको प्रोफाइल समेत तयार गरिने राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का कार्यक्रम संयोजक भद्र कार्कीले जानकारी दिए।
आगामी असोज २० गते सम्म सञ्चालन हुने यस शिविर प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका र करुणा फाउण्डेशन प्रदेश १ को आर्थिक सहयोगमा संचालनमा ल्याइएको विराटनगर महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।
उक्त शिविरमा गरिएको स्वास्थ्य परीक्षणका आधारमा आवश्यकता हेरी व्हील चेयर, सेतो छडी, बैशाखी, सुनाई यन्त्र, चस्मा, कृतिम हातखुट्टा, औला, फिजियोथेरापी सेवा र थप उपचारका लागि अस्पताल पठाउनुपर्ने भए पठाउनेछौं गौतमले भने ।
आवर विराटनगर संग कुरा गर्दै गौतमले भने , ' विराटनगरका १९ वटै वडामा ८ दिनसम्म सञ्चालन गरिने यस शिविरको पहिलो चरणमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरि उनीहरुको रोगको पहिचान गरि थप उपचारका लागि सम्बन्धित डाक्टर वा अस्पताललाई रेफर गर्ने साथै अपाङ्गता भएका व्यक्तिहरुलाई के कस्ता सहायक सामग्री आवश्यक छ त्यसको पहिचान गरि माग संकलन गर्छौं त्यसपछि बिस्तारै सबैलाई आवश्यकताका सामग्रीहरु दिलाउने लक्ष्यका साथ आफुहरुले यो शिविर संचालनमा ल्याएका हौँ ' ।
साथै यस अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्ने, अपाङ्गताको प्रकितिको पहिचान गरि फिजियोथेरापी, जिविकोपार्जनका लागि सीपमुलक कार्यक्रम गर्ने र अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षाको लागि पहुँच उपलब्धता गराउने उद्देश्यका साथ शिविर शुरु गरिएको हो।
अपाङ्गता भएका व्यक्तिहरुमा सुचनाको पहुँच हुनुपर्छ भनेको छ तर विराटनगर लगायत मोफसलका क्षेत्रमा सहायक सामग्री प्रयोग गर्नुनपर्ने धेरै व्यक्तिहरु छन् जो मिडिया लगायतका क्षेत्रमा आवद्ध छन् जसलाई आफ्नो दैनिकी काम गर्न अत्यावश्यक सामाग्री जस्तै तिन चक्के स्कुटर, ल्यापटप लगायतका सामाग्रीहरुको अभाव भएको हुँदा काम गर्न असहज भएको अवस्था देखिन्छ त्यस्तर्फ नगरपालिकाले केहि सोचेको छ कि छैन भन्ने हाम्रो प्रश्नमा गौतम भन्छन्, ' एकदम सहि कुरा गर्नुभयो हामीले यो शिविर त्यहि सबै आवश्यकता र विवरण संकलन गर्नका लागि भनेर पनि संचालन गरेका हौँ ताकि नगरपालिकाभित्र कस्ता प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरु छन् साथै कसलाई कुन सहायक सामग्री आवश्यक छ त्यसैगरी सहायक सामग्री प्रयोग नगर्ने व्यक्तिहरुलाई के कस्ता आवश्यक सामग्रीहरु चाहिएको छ त्यसको पहिचान गरि वहांहरुलाई सो सामग्रीहरु प्रदान गरिने छ '।
पहिलो दिनको शिविर वडा नम्बर २ स्थित महेन्द्र रात्रि माबिबाट शुरु गरिएको थियो जसबाट हिजो मात्रै ३२ जनालाई सेवा प्रदान गरिएको थियो। त्यसैगरी विराटनगर महानगरपालिका भित्र रहेका एक हजार अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा दिने लक्ष्यका साथ यो शिविर संचालन गरेका हौँ गौतम भन्छन् ।
असोज १३ गते विराटनगर ७ र ९ का लागि आदर्श माविमा, असोज १४ गते विराटनगर ८ को महेन्द्र माविमा , असोज १५ गते विराटनगर ३ को परोपकार समाज सेवा केन्द्रमा, असोज १७ गते विराटनगर ६ को जनचेतना आधारभुत विद्यालयमा, असोज १८ गते विराटनगर ११ को जनपथ माविमा, असोज १९ गते विराटनगर १२ को बखरी आधारभुत विद्यालयमा र असोज २० गते विराटनगर १३ को बाल माविमा शिविर सञ्चालन गरिने उनले जानकारी दिए। ।