काठमाडौं । सन् २०१९ को डिसेम्बर महिनाको अत्यतिर चीनको वुहानबाट सुरु भएको कोभिड–१९(कोरोना संक्रमण) अहिले विश्वका २२३ देशमा फैलिसकेको छ ।
वल्डओमिटरले जनाए अनुसार अहिलेसम्म विश्वमा कोरोनाभाइरस संक्रमणबाट २४ करोड ७८ लाख ६७ हजार १५० जना संक्रमित ,५० लाख २० हजार ६९५ जनाको मृत्यु भैसकेको छ । भाइरस संक्रमण भएर २२ करोड ४५ लाख ५९ हजार ९४८ जना निको भैसकेका छन् ।
विश्वभरमा अहिले कोरोना भाइरसका अल्फा,डेल्टा,बिटा,गामा र कप्पा भेरियन्ट देखिइसकेका छन्। अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । अमेरिकामा अहिलेसम्म चार करोड ६८ लाख २३ हजार ९३८ जना संक्रमित भएका छन् । मृत्यु संख्या पनि अमेरिकामै सबैभन्दा बढी छ । अहिलेसम्म अमेरिकामा सात लाख ६६ हजार २९९ जनाको कोभिडकै कारण मृत्यु भइसकेको वल्डओमिटरले जनाएको छ । अमेरिकापछि धेरै संक्रमित भएका देशहरुमा भारत, ब्राजिल, बेलायत, रुस टर्की फ्रान्स मुख्य छन् ।
संक्रमण फैलिएका विश्वका २२३ देशमध्ये नेपाल धेरै संक्रमित हुने देशहरुमध्ये ४५ औँ स्थानमा रहेको छ । अहिलेसम्म नेपालमा आठ लाख १२ हजार ५७० जना कोरोना भाइरसका संक्रमित भैसकेका छन् भने ११ हजार ४०७ जनाको संक्रमणकै कारण मृत्यु भैसकेको छ ।
पछिल्ल्ला दिनमा नेपालमा संक्रमण दर घटेपनि मृत्यु दरमा भने कमी आएको छैन । सोमवार मात्रै ४४१ जना कोरोना संक्रमित भेटिँदा नौ जनाको मृत्यु भएको छ ।
यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप वास्तोलाले पछिल्लो समयमा आठ–दश जनाको हाराहारीमा मानिसको मृत्यु भैरहनु पुराना आईसोलेसनमा रहेका मानिस भएको बताउनुभयो । “दुई महिना अघि आईसोलेसनमा रहेका मानिसको अहिले मृत्यु भएको देखिएको छ,यसकारण पछिल्लो समयमा भएका मानिस अधिकांश डिस्चार्ज भैरहेका छन,” उहाँले भन्नुभयो ।
कोभिड बिरुद्धको खोपले तिब्रता पाइरहेको र दोस्रो लहरमा संक्रमित भएका अधिकांश मानिसमा प्राकृतिक एन्टिबढी विकास भएकाले अहिले संक्रमित भएकाको अवस्था गम्भीर नरहेको बताउनुभएको छ । अहिले वास्तवमै संक्रमण घट्दै जान थालेको उहाँको भनाइ छ ।