"आजको प्रमुख अतीथि को हुनुहुँदो रहेछ? मैले त चिन्नै सकिनँ"
"वहाँ वरिष्ठ साहित्यकार हो नि ! तपाईँलाई थाह छैन ? "
"ए। के लेख्नुहुन्छ वहाँ?'
" वहाँ 'विश्वब्रह्माण्ड साहित्य परिषद्'को संस्थापक अध्यक्ष । पहिलेपहिले एउटै नबिराई सबै साहित्यिक कार्यक्रममा पुग्नुहुन्थ्यो, तर अचेल विशेष कार्यक्रमहरूमा मात्र उपस्थित हुनहुन्छ । "
"ए, अनि वहाँका कृतिको नाम थाह पाए खोजेर पढ्न हुन्थ्यो नि"
"वहाँले दुई दर्जनभन्दा बढी साहित्यिक पुरस्कार प्राप्त गरिसक्नु भएको छ । थाह छैन?"
"वहाँले लेखेको कुनै हरफ सम्झना छ भने भन्नुस् न, कस्तो लेख्नु हुँदोरहेछ थाह पाउन सकिन्थ्यो नि !"
"वहाँ एकदम मनशाली हुनुहुन्छ । मनैमन भएको । यहाँ राम्रा कृति नै छापिदैनन् के गर्ने ? वहाँले एउटा उत्कृष्ठ पुस्तक लेख्ने सोच बनाइरहनु भएको छ । तर एकदम व्यस्त मानिस वहाँ । लेख्न भ्याउनु भएकै छैन । "
"कतै छापिएका कुनै फुटकर रचना होलान् नि ?"
"तपाईँ पनि कस्तो कुरा गर्नुहुन्छ, वहाँ जस्तो वरिष्ठ साहित्यकारले पनि फुटकर लेख्छन् कतै ? तपाईँ त कार्यक्रममा आउनु हुँदो मात्र रहेछ । साहित्यको बारेमा तपाईँलाई त्यति थाह छ जस्तो लागेन मलाई त !"
" कुनै रचना नै छैन भने वहाँ कसरी साहित्यकार त?"
"साहित्यकार हैन, वरिष्ठ साहित्यकार भन्नुस् । के त्यत्रो 'विश्वब्रह्माण्ड साहित्य परिषद्'को संस्थापक अध्यक्ष भएर पनि साहित्यकार हुनलाई तपाइँले भनेर अब रचना पनि चाहिने भो' ? के तपाईँले वहाँलाई पनि आफैँजस्तो ठान्नु भएको ?
केके सुन्नु पर्या; साहित्यकार हुनलाई रचना चाहिने भो' रे अब ! उइस् ! "