सर्वत्र आलोचित विराटनगरको हिमालय रोड सौन्दर्यीकरणको योजना

<span class='c1'>सर्वत्र आलोचित विराटनगरको हिमालय</span> <span class='c2'>रोड सौन्दर्यीकरणको योजना</span>

विराटनगर । विराटनगरको हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोडकै स्तरमा स्तरोन्नति र सौन्दर्यीकरण गर्ने योजना हाल सर्वत्र आलोचनाको बिषय बनेको छ ।

महानगरले योजनाको प्रभावकारिता, दीर्घकालीन असर र भाबी समस्या तथा चुनौतीका बारेमा विस्तृत अध्ययन नगरी निर्माण प्रक्रिया थाल्दा उक्त योजना आलोचनाको बिषय बनेको हो । महानगरले सुचना निकालेरै योजनाको बोलपत्र आव्हान गर्दासम्म कसैले विरोध नगरेपनि संरचना ठडिन थाल्दा पछिल्लो समय उक्त योजना आलोचित बन्न थालेको हो । हाल आम नगरबासी, स्थानीय पसल व्यावसायी, बुद्धिजीवी तथा उपभोक्तावादी संघ–संगठनले समेत महानगरको उक्त योजनाप्रति असन्तुष्टि व्यक्त गर्दै गरिरहेका छन् ।

हिमालय रोडलाई सौन्दर्यीकरण गर्ने प्रक्रिया अघि बढाईएसँगै विराटनगरको कोशी राजमार्ग र मेनरोड बिचको लिंक टुटने, स्थानीय व्यावसायीहरु विस्थापित हुने, आकस्मिक वाहनको सहज आवागमन प्रभावित हुने, ट्राफिक जामको समस्या बढ्ने तथा जनआन्दोलन चौकको गौरवपुर्ण इतिहास समाप्त हुने लगायतका संकेत देखा पर्न थालेपछि महानगरको उक्त योजनाप्रति वितृष्णा पैदा हुँदै गएको पर्यटन व्यावसायी भबिष श्रेष्ठले बताए । उनले विराटनगरको मध्यभागमा सबैलाई अप्ठयारो पर्ने गरि संरचना ठडयाउनु उचित नरहेको तर्क गरे । विराटनगरको अर्को ठाउँमा बनाए हुन्थ्यो । ‘महानगरपालिका छेउ, प्रधानमन्त्री पार्क छेउ वा व्यासायिक गतिविधि कम हुने क्षेत्रमा बनाउँदा उचित हुन्थ्यो,’ उनले भने, ‘सिक्किमको एमजी रोड जस्तो बनाउँन लागेको खबर सुनियो । तर, यो सिक्किम होईन भन्ने बिषयलाई पनि ध्यानमा राख्नुपर्छ । यहाँ त सिक्किमको जस्तो पर्यटकीय गतिविधि हुँदैन नि । अनि सञ्चालनमा रहेका पसल व्यावसायलाई असर पर्ने गरि संरचना निर्माण गर्नु कत्तिको जायज होे त ?’

सम्बन्धित बिषयमा बोल्दै उपभोक्तावादी संस्था पब्लिक फोरम मोरङका अध्यक्ष उत्तम ढुङ्गेलले महानगरको उक्त योेजना ‘केटाकेटा आए, गुलेली चलाए, मट्याङ्ग्राको नास’ भनेझैं रहेको टिप्पणी गरे । उनले हाईवेलाई विराटनगर बजार जोड्ने लाईफ लाईनको रुपमा रहेको हिमालय रोडमा विभिन्न संरचनासहित ब्युटीफिकेसन गर्नु विकासको नाममा विनाश रहेको तर्क गरे । ‘हिमालय रोड राजनितिक इतिहास बोकेको रोड हो,’ उनले भने, ‘राजनितिक जनआन्दोलनको प्रत्यक्षदर्शी हो, हिमालय रोड । त्यहाँ यस प्रकृतिको पार्क बनाउनुपर्छ भन्ने बिषयमा हामी सहमत छैनौं ।’

फाईनल डिपिआर सहितको स्वीकृत योजना बमोजिम मंसिर ३ गतेबाट महानगरले हिमालय रोडलाई विभिन्न ४ सेक्सनमा वर्गीकरण गरि सौन्दर्यीकरण गर्ने कामको सुरुवात गरेको थियो । निर्माण संरचनालाई कुनै किसिमको क्षति नपुग्ने गरि कुल १४० मिटरको लम्बाई र नाला बाहेक ११.६ मिटरको चौडाईमा महानगरले सडक ब्युटिफिकेसनको कार्य थालेको थियो । जसअनुसार सेक्सन ए मा खुल्ला क्षेत्र र विभिन्न कार्यक्रम सञ्चालनका लागि स्टेज, सेक्सन बी मा हरियाली पार्क, सेक्सन सी मा फाउन्टेन वाटरपार्क र जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि एमफी थिएटर तथा सेक्सन डी मा दुईचक्के सवारीसाधनका लागि पार्किङ क्षेत्र बनाउने महानगरको योजना छ । तर, विस्तृत अध्ययन बिना सानो भुगोलमा भएभरका सबै संरचना अटाउन खोजिएको भन्दै महानगरबासीले उक्त योजनालाई पछिल्लो समय बौद्धिक टाट पल्टाईको चरम उत्कर्षको नाम दिएका छन् । व्यापार र ट्राफिक व्यवस्थापनको विकल्प निर्धारण नगरी थालिएको निर्माण कार्य परिणाममुखी नहुने उनीहरुको भनाई छ । आर्किटेक समेत रहेका विराटनगरका उपकार श्रेष्ठ भन्छन, ‘यो योजना दुरदर्शी छैन् । मैले सुरुवाती चरणदेखि नै असहमति जनाउँदै आएको छु । तर, सुनुवाई भएन् । योजनाका लागि ठाँउ छनौट गलत छ ।’

हिमालय रोडमै पुस्तक पसल सञ्चालन गर्दै आएकी शर्मिला मैनाली भन्छिन, ‘घरधनीसँगको सहमतिको रोड ब्युटिफिकेसनको कार्य अघि बढाईएको छ । रोड घरधनीको मात्र हो ? हाम्रो होईन ? भोलिका दिनमा हाम्रो व्यावसायमा पर्ने दुरगामी प्रभाव बारे कसले सोचिदिने ?’

यता महानगरले फुटपाथ समेत अतिक्रमण नहुने गरि हिमालय रोडको दक्षिणपट्टि करिब ५ मिटरको चौडाईमा वन वे बनाउने योजना सहित काम अघि बढाईएको दाबी गर्दै आएकोे छ । आकस्मिक वाहन तथा मालसामान ओसारपोसारका लागि सवारीसाधन आवागमनको पर्याप्त ठाउँ छुट्याएर निर्माण कार्य अघि बढाईएको महानगरका शहरी विकास तथा योजना महाशाखाका इन्जिनियर सुजनराज श्रेष्ठले बताए । ‘हामीले सञ्चालनमा रहेको पसल व्यावसायलाई कुनै असर नपर्ने बिषयलाई ध्यानमा राखेका छौं,’ उनले भने, ‘रोडको दक्षिण गाडी जाने आउने व्यवस्था गरिएको छ । त्यो एरिया चौबीसै घण्टा खुल्ला हुन्छ ।’

महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मै विराटनगरको हिमालय रोडलाई सिक्किमको एमजी रोडकै ढाँचामा सौन्दर्यीकरण गर्ने निर्णय गरेको थियो । तर, कोभिड महामारी लगायतका कारणले उक्त योेजना कार्यान्वयनमा ढिलाई भएपनि २०७८ असार २२ गते फाईनल डिपिआर सहितको डिजाईन स्वीकृत भएर भदौ २४ गते सम्झौता भएपछि मंसिर ३ गतेबाट यसको निर्माण प्रक्रिया अघि बढाईएको हो । महानगरले असार २७ गते योजनाको बोलपत्र आव्हान गरेको थियो । विराटनगरकै कला विल्र्डसले ३७.५३ प्रतिशत कम कबोल अङ्कमा योजनाको ठेक्का सम्झौता गरेको छ । महानगरले १ करोड ६१ लाख ४२ हजार १८३ रुँपैयाको लागत अनुमान गरेपनि कला विल्डर्सले १ करोड ८३ हजार २७२ रुँपैयामा योजनाको ठेक्का लिएको महानगरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्