नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश एकको खुल्ला तर्फ पुराना नेता तथा विराटनगर निवासी गुरु बराललाई उठाउने भएको छ ।
यसअघि आजै सोमबार सार्वजनिक गरेका १९ उम्मेदवारमध्ये प्रदेश एकबाट देवराज घिमिरेको ठाउँमा स्थायी कमिटि सदस्य समेत रहनु भएको बराललाई उम्मेद्वार बनाउने भएको हो ।
एमालेका पुराना नेता बराल मदन भण्डारी स्मृति प्रतिष्ठानको अध्यक्ष समेत हुनुहुन्छ । प्राविधिक शिक्षा अभियन्ताका रुपमा लामो समयदेखि कार्यरत उहाँ निरन्तर समाजमा भिजेर काम गर्ने नेताका रुपमा चिनिनु हुन्छ । उहाँको नेतृत्वमा संचालित मदन भण्डारी स्मृति प्रतिष्ठानमा हजारौं विद्यार्थीहरुले नर्सिङ्ग र ईन्जिनियरिङ गरि डिप्लोमादेखि स्नातकोत्तर सम्मको विषय अध्ययन गरेका छन् ।
यसका साथै लक्षित वर्ग शैक्षिक उपहार तथा ऋण कार्यक्रम जस्ता परियोजनाहरु संचालन गरि कयौं विद्यार्थीले निशुल्क रुपमा कोषकै लगानीमा उहाँको नेतृत्वमा अध्ययन गराउने गर्नु हुन्छ । यसरी कोषको लगानीमा अध्ययन गरेर क्षमतावान् भएका विद्यार्थीहरुले आफु जस्तै अरु विद्यार्थीलाई पढाउन कोषमा आफुले पढेको रकम फिर्ता गर्ने गरेका छन् । यसरी हालसम्म ४ सय ४ जना गरिब विद्यार्थीले उच्च शिक्षा लिईसकेका छन् ।
यसै गरि बरालले सामुदायिक विद्यालय गुणस्तर सुधार अभियान अन्तर्गत देशका विभिन्न सामुदायिक सुधारका कार्यक्रम, आमा समुह बनाउने अभियानहरु संचालन गरिरहनु भएको छ ।
यसका साथै एमालेले गण्डकी प्रदेशको दलिततर्फका उम्मेदवार गोविन्द बहादुर नेपालीको साटो अर्जुन कुमार सुनामलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेले प्रदेश–१ बाट खुल्ला तर्फ बरालका साथै महिला तर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यक तर्फ सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु) लाई उम्मेद्वार बनाउने भएको छ ।
माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोली पुस २० मा उम्मेदवारी दर्ताको मिति तोकिएको छ।