उज्यालो जनकपुरधाम अभियानले नगरक्षेत्र झिलीमिली

<span class='c1'>उज्यालो जनकपुरधाम अभियानले</span> <span class='c2'>नगरक्षेत्र झिलीमिली</span>

जनकपुर । केही समयअघिसम्म समसाँझै अध्याँरो र डरलाग्दो देखिने जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सडक यतिबेला भन्ने झिलीमिली देखिन थालिएकोे छ ।

जनकपुरधाम उपमहानगरपालिकाले उज्यालो नगर बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका खम्बाखम्बामा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि जनकपुरधाम नगरक्षेत्र झिलीमिली बनेको हो ।

“केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अध्याँरो हुने र हिँड्डुल गर्न नसक्ने स्थिति थियो”, जनकपुरधाम उपमहानगरपालिका–१ का रोशन महतोले भन्नुभयो, “तर अहिले रातिका समय जतिबेला पनि नगरक्षेत्रका सडक उज्यालो हुन्छ, जसका कारण हामी सुरक्षित महसुस गरिरहेका छौँ ।” उपमहानगरपालिकाले खम्बाखम्बामा जडान गरेको बत्तीले आफूहरुको बस्ती नै उज्यालो बनेको उहाँको भनाइ थियो ।

“पहिलापहिला सडक छेउका अधिकांश खम्बामा बत्ती थिएन्”, जनकपुरधाम उपमहानगरपालिका–४ का सहदेव साहले भन्नुभयो, “जडान भएका बत्ती पनि कतिपय बल्ने स्थितिमा थिएन, जसले गर्दा यस क्षेत्रका सडकमा साँझ पनि हिँडडुल गर्न समस्या भइरहेको थियो ।” अब अहिले निर्धक्क भएर २४सैँ घण्टा सडकमा हिँड्दा पनि कुनै समस्या छैन, उहाँको भनाइ छ । “विगतका वर्षमा साँझ र रातिका समयमा सडक अध्याँरो हुँदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरेको थियो”, उहाँले भन्नुभयो, “अहिले नगरक्षेत्रमा त्यस्ता आपराधिक घटनामा समेत ह्वातै कमी आएको छ, जसले गर्दा हामी सुरक्षित महसुस गरिरहेका छौं ।” यसबाहेक खम्बाको बत्तीले नगरक्षेत्र नै झिलीमिली बनेको उहाँको भनाइ थियो ।

उपमहानगरपालिकाले एकपछि अर्काे लोकप्रिय योजना ल्याएर कार्यान्वयन गर्ने गरेकाले छोटो समयमै जनकपुरधाम उपमहानगरपालिकाले मुहार फेर्न लागेको स्थानीयवासी बताउँछन् । उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ देखि उज्यालो जनकपुरधाम अभियानअन्तर्गत सडक तथा गल्लीका खम्बामा बत्ती जडानलाई तीव्रता दिएको उपमहानगरपालिकाका योजना शाखा प्रमुख वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । त्यही योजनाअनुसार नगरक्षेत्रका सडक र गल्लीमा ६७३ सेन्सर लाइट जडान गर्ने लक्ष्य रहेकोमा हालसम्म करिब ६० प्रतिशत लाइट जडान गरिसकेको र बाँकीमा जडान कार्य भइरहेको वरिष्ठ इञ्जिनीयर यादवले बताउनुभयो ।

“नगरक्षेत्रमा अघिल्लो आर्थिक वर्षबाट उज्यालो जनकपुर अभियान सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसै अभियानअन्तर्गत हामीले अहिलेसम्म रेल्वे स्टेशनदेखि विमानस्थलसम्म, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म र परिक्रममा सडकमा ठूलाठूला सेन्सर लाइट जडान गरेका छौँ ।” बाँकी सडकमा पनि बत्ती जडानको काम जारी छ, छिट्टै जडान सकिनेछ, उहाँको भनाइ छ । विगतमा फोहर र कुरुप सहरको पहिचान बनाएको जनकपुरधाम नगरक्षेत्रमा पछिल्लो समय भएको लोभलाग्दो विकासले यहाँका जनप्रतिनिधि मात्र होइन, स्थानीयवासीसमेत उत्साहित बनेका छन् ।

जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण छोटो समयमै नगरक्षेत्रमा थुप्रै परिवर्तन ल्याउन सफल भएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताउनुभयो । “आफू निर्वाचित भएदेखि चार वर्षको अवधिमा उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ”, उहाँले भन्नुभयो, “४०/५० किलोमिटर सडक बिस्तार, फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वडामा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउण्ड नाला बनाएर पिसिसी ढलान गरेका छौँ ।” जनकपुरधामको मूल प्रवेशद्वार जलेश्वर भिट्ठामोड, जटही, कदम चोक, धुनुषा पथ, कुर्था, कपलेश्वर मौआहा, सीता चोक, भ्रमपुरालगायत स्थानबाट प्रवेश गर्ने सडकमा निर्माण ठेकेदारसँगको समन्वयमा नौ इञ्चको ठूलो चेचिस गाडी सहज प्रवेश गर्न र निस्किन सकिने १६ मिटर चौडाको सडक बिस्तार गरिएको नगरप्रमुख साहको भनाइ छ ।

यी सडक बिस्तारको ठेक्का पाएको निर्माण व्यवसायीले करिब ८० प्रतिशत काम सम्पन्न गरिसकेको उपमहानगरपालिकाले जनाएको छ । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला कालोपत्र भएका छन् । जसकारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुपसमेत फेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्