उर्लाबारीको  एउटा यस्तो परिवार, जसलाई राज्यले चिन्दैन

<span class='c1'>उर्लाबारीको  एउटा यस्तो परिवार,</span> <span class='c2'>जसलाई राज्यले चिन्दैन</span>

गोविन्द पोख्रेल, उर्लाबारी
उर्लाबारीलाई शत्प्रतिशत जन्मदर्ता घोषणा गरिएपनि एउटा यस्तो परिवार फेला परेको छ, जहाँ ६ सन्तानको जन्मदर्ता त परै जाओस् उनीहरुको वास्तविक नाम नै छैन ।
अनौठो लाग्ने उनीहरुको नाम भने केवल ‘हाँसीमजाक’ गर्नका लागि मात्र छ । उर्लाबारी–१ किसान चौकमा एउटा टहरोमा बस्दै आएका वीरबहादुर धिमालका ६ सन्तानमध्ये सबैको जन्मदर्ता छैन भने ५ जनाको नामपनि वास्तविक छैन ।
अपाङ्गता भएका वीरबहादुरका माइला छोराको नाम ‘किरण’ भएपनि अरुको औपचारिक नाम नभएको पाइएको हो । जेठा छोरालाई ‘आइते’, साइलालाई ‘ठूले’, काइलालाई ‘हे’, अन्तरेलाई ‘जंगली’ र कान्छोलाई ‘लसुने’ भनेर बोलाइन्छ । उनकी एकमात्र छोरीको विहे भइसकेको छ । केही बर्षअघि एक जना यातायात मजदुरसँग भागी विहे गरेकी छोरीको नाम पनि के हो वीरबहादुरलाई थाहा छैन ।
कतिसम्म भने जेठो छोरो २५ बर्षको भइसक्दा समेत उनलाई आफ्नी श्रीमतीको पनि नाम थाहा छैन । कसैले श्रीमतीको नाम सोध्यो भने उनी फूलमाया, सुन्दरीमाया, कलावतीलगायत जथाभावी नामहरु भन्छन् ।
छरछिमेकीहरु वीरबहादुरका छोराहरुको नामका बारेमा अड्कल मात्र गर्छन् । कसैले जेठा छोरा आइतबार जन्मेकाले ‘आइते’, महिला छोरा अपाङ्गता भएकाले ‘किरण’, साहिला छोरा अरुभन्दा अलि ठूलो देखिएकाले ‘ठूले’, काइला छोरा हाँस्दा ‘हे–हे’ गर्ने बानी भएकाले उसको नाम ‘हे’ रहेको किस्सा सुनाउँछन्, स्थानीय उमेश धिमाल । अन्तरे जंगलमा निगुरो खोज्न जाँदा जन्मिएकाले ‘जंगली’ र कान्छो छोरा लसुन गोड्दा गोड्दै जन्मिएकाले ‘लसुने’ भन्ने गरिएको छिमेकीहरु बताँउछन् । ural
उर्लाबारी–१ का यी धिमाल परिवारका सदस्यहरुको जन्मदर्ता मात्र होइन नेपाल सरकारको कुनै निकायमा यिनीहरु अटाउन सकेका छैनन् । कुनै विद्यालयका हाजिरी खातामा पनि यिनीहरुको नाम छैन ।
आइते नाम नै सही, २५ बर्षको लक्का जवान हुँदासमेत उनी नागरिकता विहीन छन् । स्थानीयको ट्याक्टरमा उनी मजदुरी गर्छन् । जिल्लाकै दोस्रो ठूलो सहर उर्लाबारीमा रहेपनि ‘आइते’ ले विद्यालयको कक्षा देख्न पाएका छैनन् । घर नाममात्र भएकोले होला आइते ट्याक्टरलाई नै आफ्नो घर ठान्छन् । उनी कता सुत्छन् थाहा छैन ।
किरण २२ बर्षका भए, शारीरिक रुपमा अशक्त उनले राज्यबाट पाउने सेवा सुविधा उपभोग गर्न पाएका छैनन् । अपांगको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरू भएपनि ती संस्थाको नजर उनीसमक्ष पुग्न सकेको छैन । स्थानीय वीरेन्द्र लिम्बूले भन्नुभयो ‘कमजोर आर्थिक अवस्था र अशिक्षाका कारण यिनलाई राज्यले चिनेन ।’
वीरबहादुर धिमालको सिङ्गो परिवार नै पीडादायी रूपमा जीवनयापन गरिरहेको छ । गाउँका टाठाबाठा भनिने छरछिमेकीले पनि धिमाल परिवारको चेतनास्तर उकास्ने काममा कुनै पहल गरिदिएका छैन् ।
धिमाल परिवारलाई ‘पेट भर्ने’ चिन्ता अधिक छ । अशिक्षाका कारण उनीहरुले भोजभतेरमा भाँडा माझेर पेट भर्छन् । वीरबहादुरका केही छोरा सिजनमा जंगलबाट खोजेर ल्याएको निगुरो बेच्छन् । अरू बेला बनिबुतो गर्छन् । सामान्य रुपमा जोहो गरेको रकमले सामान्य किसिमबाटै हातमुख जोर्छन् ।
वीरबहादुरको टहरामा प्रायः चुल्हो बल्दैन । किनभने उनीहरु अन्नपातको अभावमा प्रायजसो विस्कुट तथा पाउरोटीले पेट भर्छन् । जाडो बढ्दै जाँदा यो परिवारमा लत्ताकपडाको उस्तै अभाव खड्किएको छ ।
सुत्ने एउटा खाट समेत छैन । जुन ठाउँमा वीरबहादुर स–परिवार बसेका छन् त्यो भूमि पनि उनको निजी होइन । कसैले उनलाई बस्नका लागि दिएको आश्रयस्थल मात्र हो । वीरबहादुरको छोराहरु ‘लाठे’ भइसकेका छन् । सोझोपन र अशिक्षाका कारण उनीहरु पेट भर्नकै लागि श्रम गर्न बाध्य छन् । कसैकोमा दाउरा चिरिदिन्छन्, कसैको भाँडा माझिदिन्छन् । यसवापत उनीहरुले भरपेट खान पाए पुग्छ । हातमा ज्याला पर्दैन । दिए ठीकै छ, नदिए पनि दुःखमनाउ छैन ।

 

यी व्यक्तिको सहयोगका लागि मंगलबारेका उमेश धिमाल,विरेन्द्र लिम्बू,दिनेश लिम्बू र भिष्म बुढाथोकीसँग सम्पर्क गर्नसक्नुहुनेछ ।
उमेश धिमालः९८०३६३१४०६ भिष्म बुढाथोकीः 9842135222
विरेन्द्र लिम्बूः९८१२३६६९६९्
दिनेश लिम्बू ः ९८०७३७०४५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्