विराटनगरको जहदा मार्ग अब ‘शंखधर साख्वा मार्ग’ भनेर चिनिने

विराटनगरको जहदा मार्ग अब ‘शंखधर साख्वा मार्ग’ भनेर चिनिने

विराटनगर । विराटनगरको ट्राफिक चौकदेखि न्यूरो अस्पताल जोड्ने जहदा मार्ग अब शंखधर साख्वा मार्गको रुपमा चिनिने भएको छ ।

नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले जहदा मार्गलाई राष्ट्रिय विभुति शंखधर साख्वाको नाम प्रदान गरेपछि उक्त मार्गले नयाँ पहिचान पाएको हो । शंखधर साख्वा नेपालका राष्ट्रिय विभुति हुन् । २०५६ मङ्सिर ३ गते नेपाल सरकारले नेपाल सम्वतका प्रर्वतक समेत रहेका शंखधर साख्वालाई राष्ट्रिय विभुति घोषणा गरेको थियो । नेपाल सम्वतको दिन प्रायः चर्चा हुने गरेको शंखधर साख्वा नेपाली समाजलाई ऋणबाट मुक्ति दिलाउने व्यापारी तथा समाजसेवी थिए । प्राचीन कथन अनुसार वि.सं. ९३६ मा उनले कान्तिपुर र भादगाउँका जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्वतको थालनी गरेका थिए ।

नेपाल भाषा तथा संस्कृति संरक्षण र सम्र्वद्धको क्षेत्रमा कार्य गर्दै आएको झी पुचः उनै शंखधर साख्वाको नाममा जहदा मार्गको नामाकरण गरेको हो । विराटनगर–१० स्थित न्यूरो अस्पताल छेउमा अवस्थित रहेको शंखधर साख्वाको स्मारकलाई सौन्दर्यीकरण गर्दै नेपाल सम्वत ११४२ को सुरुवातको दिन जहदा मार्गलाई नयाँ नाम प्रदान गरिएको झी पुचः ले जनाएको छ । विराटनगर महानगरपालिका, जनप्रतिनिधी र स्थानीय बासिन्दाको सहकार्यमा जहदा मार्गलाई शंखधर साख्वा मार्ग भने घोषणा गरिएको झी पुचः का अध्यक्ष हरिबहादुर श्रेष्ठले बताए ।

पुर्वमै पहिलोपटक वि.सं. २०६२ साल पुस २७ गते विराटनगरमा राष्ट्रिय विभुति शंखधर साख्वाको प्रतिमा निर्माण गरिएको थियो । विराटनगरको जहदा रोडमा निर्माण गरिएको उक्त प्रतिमाको अनावरण संस्कृतिविद सत्यमोहन जोशीले गरेका थिए । नेपाल भाषा तथा सांस्कृतिक संघले सोही प्रतिमालाई सौन्दर्यीकरण गर्दै जीवन्त राख्ने प्रयास गरेको झी पुचःका कोषाध्यक्ष सुभाष अमात्यले बताए ।

विराटनगर–१० स्थित बंगलामुखी मार्गको कर्नरमा अवस्थित रहेको शंखधर साख्वाको स्मारकलाई झी पुचःले नेवारी कलात्मक ढङ्गले सौन्दर्यीकरण गर्ने प्रयास गरेको छ । भक्तपुरबाट इँटाहरु मगाएर स्मारकलाई नयाँ पहिचान दिने प्रयास गरिएको संस्थाले जनाएको छ । संस्थाका संरक्षक र सल्लाहकारहरुको सहयोगमा कुल साढे ३ लाखको लागतमा स्मारक सौन्दर्यीकरणको कार्य गरिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्