विगतलाई समीक्षा गरेर मतदान गरौँ : महामन्त्री शर्मा

<span class='c1'>विगतलाई समीक्षा गरेर मतदान</span> <span class='c2'>गरौँ : महामन्त्री शर्मा</span>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गर्नुभएको छ।

मध्यपुरथिमि–४ बालकुमारीमा बिहीबार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गर्नुभयो।

‘म एक जनाले भोट नदिएर के हुन्छ र ? जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्न भन्ने सोचाइ पहिलोपटक भोट हाल्न जाने युवा वर्गमा आउन सक्छ’, महामन्त्री शर्माले भन्नुभयो, ‘जस्तोसुकै अवस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर मतदान गर्ने बेलामा एकपटक गम्भीर भएर सोच्नुस्, यसअघिको सरकारको समीक्षा गर्नुस्, अहिले कांग्रेस सरकार आएपछिको पनि समीक्षा गर्नुस्, मतदान गर्नुस्।’

पाँच वर्षका लागि चुनाव जितेको नेकपाले सरकार चलाउँदा केपी ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उहाँले ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गर्नुभयो।

जनताले स्थितर र बलियो सरकार चाहिरहेको बेलामा एमालेलाई फेरि बहुमत दिए पाँच वर्ष सरकार चलाउन सक्छ भन्ने विश्वास अब नभएको उहाँले बताउनुभयो।

नेकपाकै सरकार रहेको बेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बूढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उहाँको भनाइ थियो।

उहाँले एमालेतर्फ लक्षित गर्दै सिंहदरबारमा ढङ्ग नपुग्दा र समृद्धिको भात पकाउन परिपक्वता नहुँदा काँचो बनेको टिप्पणी गर्दै कांग्रेसले कुनै पनि विषयमा राष्ट्रघात नगर्ने बताउनुभयो। एमसीसी राष्ट्रघात हो भन्ने कुरा बेकार हो भन्दै उहाँले कांग्रेसले कहिल्यै राष्ट्रघात गर्न नसक्ने बताउनुभयो। कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै उहाँले एमसीसीमा सैन्य रणनीति नरहेको प्रष्ट पार्नुभयो।

एमाले अध्यक्ष ओली आफैँले मन्त्रिपरिषद्बाट निर्णय गराएर एमसीसी सम्झौता संसद्‍मा दर्ता गराउनुभएको हो भन्दै उहाँले संसद्‍मा नाराबाजी गरिरहँदा कुनै पनि दिन एमसिसी मूर्दावाद नभन्नु, एमसिसीका बारेमा बोल्दै नबोल्नु एमालेको पनि एमसिसीमा समर्थन थियो भन्ने पुष्टि हुने भनाइ राख्नुभयो।

चुनाव अगाडि एमसीसी राष्ट्रघात हुने र चुनावपछि राष्ट्रहित हुन्छ भन्ने पक्षमा कांग्रेस नरहेको भन्दै महामन्त्री शर्माले भन्नुभयो, ‘कांग्रेसलाई चुनावपछि मात्रै एमसिसी पास गरौँ भन्ने प्रस्ताव आएकै हो, ए बाबा, अहिले पास गर्दा राष्ट्रघाती हुने, चुनावपछि गर्दा राष्ट्रघाती नहुने यो कस्तो कुरा हो ? राष्ट्रघात हो भने त चुनावअघि गरे पनि पछि गरे पनि राष्ट्रघात नै हो। त्यसैले कांग्रेसले राष्ट्रघात हुने काम गर्दैन।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति दूर्लभ थापा, सभापतिका प्रत्यासी युवानेता अष्टकुमार कँवे, मध्यपुर नगर सभापति हरिदास प्रजापतिलगायतले चुनावी अभियान सुरु भएको भन्दै आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुने गरी कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्