विराटनगर । विराटनगरको हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति असन्तुष्ट स्थानीयले पछिल्लो समय निमार्ण कार्यमा ढिलाई भएको भन्दै विरोध जनाउन थालेका छन् ।
महानगरले सुचना निकालेरै योजनाको बोलपत्र आह्वान गर्दासम्म कसैले विरोध नगरेपनि संरचना ठडिन थालेपछि स्थानीय व्यावसायी र बासिन्दा त्यसको विपक्षमा देखिन थालेका हुन् । महानगरले योजनाको प्रभावकारिता, दीर्घकालीन असर र भाबी समस्या तथा चुनौतीका बारेमा विस्तृत अध्ययन नगरी निर्माण प्रक्रिया अघि बढाएको स्थानीयको भनाई छ । स्थानीयको विरोधका बाबजुद निमार्ण प्रक्रिया थालिएपनि निमार्ण कार्यप्रति महानगर संवेदनशील नदेखिएको उनीहरु बताउँछन् । सुरुवाती चरणमा द्रुत गतिमा काम थालिएपनि पछिल्लो महिना दिनयता महानगर सुस्त देखिन थालेको उनीहरुको गुनासो छ । निमार्ण कार्यमा ढिलाई गर्दा धुवाँधुलो र ट्राफिक जाम लगायतका समस्या कारण त्यसको प्रत्यक्ष असर व्यवसायमा समेत परेका उनीहरु बताउँछन् ।
फाईनल डिपिआर सहितको स्वीकृत योजना बमोजिम मंसिर ३ गतेबाट महानगरले हिमालय रोडलाई विभिन्न ४ सेक्सनमा वर्गीकरण गरि सौन्दर्यीकरण गर्ने कामको सुरुवात गरेको थियो । निर्मित संरचनालाई कुनै किसिमको क्षति नपुग्ने गरि कुल १४० मिटरको लम्बाई र नाला बाहेक ११.६ मिटरको चौडाईमा महानगरले सडक ब्युटिफिकेसनको कार्य अघि बढाएको थियो । जसअनुसार सेक्सन ए मा खुल्ला क्षेत्र र विभिन्न कार्यक्रम सञ्चालनका लागि स्टेज, सेक्सन बी मा हरियाली पार्क, सेक्सन सी मा फाउन्टेन वाटरपार्क र जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि एमफी थिएटर तथा सेक्सन डी मा दुईचक्के सवारीसाधनका लागि पार्किङ क्षेत्र बनाउने महानगरको योजना छ । तर, हाल एक्कासी आएर महानगरले निर्माण कार्यमा ढिलाई गरिदिँदा ट्राफिक व्यवस्थापनमा समेत ठुलो चुनौती थपिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खडकाले बताउनुभयो ।
हिमालय रोड सौन्दर्यीकरण योजनाका कारण विराटनगरको कोशी राजमार्ग र मेनरोड बिचको लिंक टुटने, स्थानीय व्यावसायीहरु विस्थापित हुने, आकस्मिक वाहनको सहज आवागमन प्रभावित हुने, ट्राफिक जामको समस्या बढ्ने तथा जनआन्दोलन चौकको गौरवपुर्ण इतिहास समाप्त हुने लगायतका संकेत देखा पर्न थालेपछि स्थानीयले सुरुवाती चरणदेखि नै महानगरको उक्त योजनाको विरोध गर्दै आईरहेका छन् । महानगरको उक्त योजना अन्यत्रै सारिनुपर्ने उनीहरुको माग रहँदै आएको छ । तर, महानगरले फुटपाथ समेत अतिक्रमण नहुने गरि हिमालय रोडको दक्षिणपट्टि करिब ५ मिटरको चौडाईमा वन वे बनाउने योजना सहित काम अघि बढाईएको दाबी गर्दै आएकोे छ ।
आकस्मिक वाहन तथा मालसामान ओसारपोसारका लागि सवारीसाधन आवागमनको पर्याप्त ठाउँ छुट्याएर निर्माण कार्य अघि बढाईएको महानगरले जनाएको छ । महानगरका अनुसार निर्माण कार्यमा ढिलासुस्ती गरिएको छैन् । हिमालय रोडमा हालसम्म संरचना निमार्णको कार्य अन्तिम चरणमा पुगेको र अब बिजुलीबत्ती तथा खानेपानीको पाईप जडानको कार्य थालिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर शैलेस यादवले बताउनुभयो ।
महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मै विराटनगरको हिमालय रोडलाई सिक्किमको एमजी रोडकै ढाँचामा सौन्दर्यीकरण गर्ने निर्णय गरेको थियो । तर, कोभिड महामारी लगायतका कारणले उक्त योेजना कार्यान्वयनमा ढिलाई भएपनि २०७८ असार २२ गते फाईनल डिपिआर सहितको डिजाईन स्वीकृत भएर भदौ २४ गते सम्झौता भएपछि मंसिर ३ गतेबाट महानगरले यसको निर्माण प्रक्रिया अघि बढाएको हो । महानगरले गएको असार २७ गते योजनाको बोलपत्र आव्हान गरेको थियो । विराटनगरकै कला विल्डर्सले ३७.५३ प्रतिशत कम कबोल अङ्कमा योजनाको ठेक्का सम्झौता गरेको छ । महानगरले १ करोड ६१ लाख ४२ हजार १८३ रुँपैयाको लागत अनुमान गरेपनि कला विल्डर्सले १ करोड ८३ हजार २७२ रुँपैयामा योजनाको ठेक्का लिएको महानगरले जनाएको छ । महानगरका अनुसार २०७९ असोज १३ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ ।