विराटनगर । नेपाल जैविक विविधता र प्रकृतिक स्रोतले भरिपूर्ण देश हो । जलश्रोतमा ब्राजिल पछि दोस्रो धनि देश नेपाल नै हो । जलस्रोतमा मात्र होइन नेपालमा विश्वकै अग्लो हिमाल सगरमाथा, बुद्ध र सिता माताको जन्मभएको देवालय लगायतका विभिन्न विविधताले भरिपूर्ण देश हो । नेपाल विश्व मानचित्रमा पर्यटकिय क्षेत्रको रूपमा परिचित रहेको छ ।
नेपालको भौगोलिक विभाजन अनुसार सात प्रदेश र ७७ जिल्लामा विभाजित रहेको छ । ७७ जिल्ला मध्ये ताप्लेजुङ पनि एक हो । यो जिल्ला नेपालको प्रदेश नं.१ अन्तर्गत मेची अञ्चलको पूर्वोतर भागमा अवस्थित जिल्ला हो । नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित माता ‘श्री पाथिभरा देवी’ एक धार्मिक शक्तिपीठ तथा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको एक ऐतिहासिक स्थल हो । पूर्व पश्चिम महेन्द्र राजमार्गको इनरुवा, इटहरी, विर्तामोड तथा इलाम पाँचथर, फिदिम हुँदै नागवेली झै घुमेको साँगुरो बाटो पार गर्दै प्रवेश गरिने जिल्ला ताप्लेजुङ साचिकै धार्मिक सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले अन्माउन लागेको दुलही जस्तै सिंगारिएको छ । यस जिल्लामा रहेको विभिन्न पर्यटकीय क्षेत्रहरू रहेका छन् । पाथीभरा देवी, दिक्कीछोलिङ गुम्बा, तिम्बुङपोखरी, फुङफङगे झर्ना लगायत पापुङको तोक्पेगोलाको सोद्धपोखरी क्षेत्र पर्यटकीय क्षेत्रको रूपमा परिचित छ।अझ तमोर र काबेली नदीले सुस्केरा हालीहाली बग्दा झन सुनमासुगन्ध मिश्रणको आवास हुन्छ।
किम्बदन्ति अनुमार ताप्लेजुङ्गको नामकरण प्राचिनकालमा ताप्लेु नाम गरेको राजा जोङ (किल्ला) यस स्थानमा रहेको हुनाले ताप्लेजुङ रहन गएको हो । यो जिल्लाको कुल क्षेत्रफल ३ हजार ६४६ वर्ग किलोमिटर छ । समुन्द्री सतह ७ सय ७७ मिटर देखि ८ हजार ५ सय ८६ मिटर कन्चनजंगा हिमाल सम्मको उचाइमा यो जिल्ला अवस्थित रहेको छ । यो जिल्लाको कुल जनसङ्ख्या १ लाख २७ हजार ४६१ रहेको छ । यो जिल्लालाई केन्द्रका लागि एक र प्रदेशका लागि दुई निर्वाचन क्षेत्र, एक नगरपालीका र आठ गाउँपालिकामा विभाजन गरिएको छ । यो जिल्लाको सदरमुकाम फुङलिङ हो । यो जिल्लाको उत्तरमा चीनको तिब्बत, पूर्वमा भारतको सिक्किम, पश्चिममा संखुवा दक्षिणमा तेहशुम र पाँचथर जिल्ला पर्दछ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कंचनजंघा (८५८६ मिटर) र अन्य ७ हजार मिटर भन्दा अग्ला दश वटा भन्दा बढी हिमालहरू रहेको जिल्ला, नेपालको सबै भन्दा बढी हिमताल लगभग ३००, नेपालमा सर्वप्रथम सूर्येदय हुने, जैविक विविधता प्राकृतिक सुन्दरता, धार्मिक, ऐतिहासिक, जलस्रोतको धनी, बहुजाति, बहुभाषीक, बहुसांस्कृतिक आदिको संगमस्थलको रूपमा ताप्लेजुङ जिल्लालाई लिन सकिन्छ ।
सबैको मन मस्तिष्कमा हरपल सम्झनामा रहिरहने क्षेत्र पाथीभरा यही पर्ने हुनाले यहाँ धार्मिक पर्यटकहरुको प्रायःघुइँचो नै लागिरहन्छ। अधिकांंश हिन्दु एंव बौद्ध धर्माम्बली भक्तजनहरू माता पाथीभराको दर्शन गर्न घण्टौ पैदल यात्रा गरेर जान्छन् । विश्वास, आस्था एवं पवित्रताकि देवी पाथीभराको पवित्र धाम ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ्गबाट लगभग १६ किमि पूर्वोत्तिर ३७६४ मीटरको उचाईमा छ। भरेको पाथि झैं सुन्दर मनमोहक आकृति बोकेको पाथिभरा पहाडको शिखरमा देवी भगवतीको धाम रहेकाले यी देवीको नाम पाथीभरा देवीु भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। पाथीभरा देवीको उत्पत्तिको सम्बन्धमा थुप्रै किम्बदन्ती तथा जनविश्वास रहेका छन् ।
किम्बदन्ती अनुसारःपरापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ एक पटक पाथीभरामा राखेकेका थिए । एक दिन अचानक वथानका सबै भेडाहरूर अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तब्ध भएका गोठालाहरूलाई माताले रातमा प्रतत्यक्ष दर्शन दिनु भइ आफ्नो उत्पत्ति स्थल र आकृतिको वोध गराउँदै भेडावली सहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । आत्माबोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थालमा भक्तिभाव पूर्वक पूजा अर्चना गरी सबै भन्दा ठुलो, स्वस्थ र हृष्टपुष्ट भेडाको वली दिए । वली दिन साथ ती हराएका सबै भेडाहरू जस्ताको त्यस्तै यथा स्थानमा देखा परे ।त्यो भन्दा अझ चाखलाग्दो र आश्चर्यको कुरा वली दिएको भेडाको रगत वली स्थनमा झर्न साथ बालुवामा पानी हराए झै हरायो । यो निकै अनौठो दृष्य देखेर आश्चर्य मान्दै सम्पूर्ण गोठालाहरुले पाथीभरा देवीको जयजयकार समेत गरे ।
अहिले पनि पाथीभरा देवीलाई दैनिक सयौंको संख्यामा बोका, भेडा को बलि चढाइन्छ तर वली दिने स्थलमै रगत आफैहराएर जान्छ । यो जोकोहि दर्शनार्थी, भक्तजनहरुले प्रत्यक्ष अवलोकन तथा अनुभव गर्न सक्छन्। देवीलाई चढाइएको वलीको संख्यालाई होर्ने हो भने त्यहाँ रगतको पोखरी हुनु पर्नु तर त्यसो कदापि हुँदैन । यही कारण पनि देवी पाथीभराले श्रध्दालु भक्तजनहरूले चढाएको वली श्रद्धापूर्वक ग्रहण गर्छिन् भन्ने जनविश्वास रहिआएको छ।
आज पाथीभरा देवीको शक्ति, महिमा र देवी प्रतिको आस्था एवं विश्वासले गाउँ, जिल्ला प्रदेश र देशकै सीमा नाग्दै विदेशमा समेत चर्चा हुन थालेको छ । जसको परिणाम स्वरूप हजारौको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीको दर्शनका निम्ति आउने गर्छन्न। माथिनै उल्लेख गरिएको छ कि पाथीभरा देवी विश्वास, आस्था एवं पवित्रताकी देवी हुन । यसैले पाथीभरा धाममा जानै पर्ने हुन्छ ।धाममा जानलाई कुनै जात, धर्म वा लङ्गको भेदभाव छैन र बन्देज पनि छैन । ‘मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा जान सकिन्छ ।
श्रद्धालु भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दूर, टीका, गाजल, पोते, ऐना, कॉइयो आदि पनि चढाउने गर्दछन् । यस पाथीभरा क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको केवल नेपालमा मात्र पाइने काँडे भ्याकुर, मुनाल तथा फुत्रगसका वयानहरूले स्वागत गर्छन्न ।नेपाल अधिराज्यमा जम्मा ४५ प्रजातिका गुँरासहरू पाइन्छ, जस मध्ये २४ प्रकारका गुँरास पाइने कुरा फुल विशेषज्ञहरू बताउँछन् । चैत वैशाखको बेला सम्पूर्ण पाथीभरा क्षेत्र साथ साथै आसपासका जङ्गल हरू गुँरासले धपक्क बलेको हुन्छ। यो मौसममा तपाई हामी रातो सुनपाती, झुसे सुनपाती, पहेलो चिमाल, लालीगुँरास जस्ता विभिन्न प्रजातिका गुँरासहरू जंगलमै रंगी विरंगी पारेर ढकमक्क फुलेको दृश्य देख्न सकिन्छ। माघ(फाल्गुनको बेला यो क्षेत्र चाँदी झै टल्कीने हिउँले सेताम्मे भएको हुन्छ। यहाँको यात्रा गर्दा लाग्दछ मानौ मिठो सपनाको आलौकिक काल्पनिक सुन्दर वगैंचामा घुमफीर गरिदै छ ।
फेदीबाट लेकाली अङ्गेरी,गोब्रोसल्लो, धुपी, गुँरासको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिँडेपछि तपाई पाथीभरादेवीको मन्दिर रहेको डाँडाको पश्चिपट्टिको मखमा फुत्त आईपुग्नुहुन्छ,त्यसबेला तपाईको आगमनको खबर पाएर टक्र्याक टुक्रुक बसेका कंचनजंगा, कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमश्रृंखलाहरु साथै लिई स्वागतको लागि हतारहतार आएझैं भान पर्दछ । कुम्भकर्णको कुमसँग आफ्नो कुमठोकिएलाकि भनी तपाई आनायस पनि झस्कनु हुन्छ । जतिसुकै थाके पनि बुरुक्क उफ्रिएर कुम्भकर्णको कुममा चढौंचढौ लाग्दछ। कञ्चनजंघाको भिरालो फाँटहरूमा चिप्लेटी खेल्ने रहर अन्तर मनखेखि जागेर आउन सक्छ । साँच्चै नै भन्नुपर्दा यी हिमश्रृंखलाहरूको मगमुग्धकारी अलौकिक दृश्यले सम्मोहित भई तपाईं स्वर्गीय आनन्दको अनुभूतिमा हुनुहुन्छ, भावशून्य भएर आफैं–आफैमा हराउनु हुन्छ ।
सायद तपाईको उत्सुकता पाथीभरा देवीको मन्दिरमा कसरी पुग्ने भन्ने तिर होला, दक्षिणबाट उत्तरतर्फ केही ओर्रालिएर गएको चउरीलो फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहाली लाग्दो भिरको शिरानमा सबै श्रद्धालुभक्तजनहरुको मनोकांक्षा पूरा गरिदिने देवी पाथीभरा माताको मन्दिर अवस्थित छ । अब तपाई देवी पाथीभराको चरणमा उपस्थित हुनुहुन्छ । मन्दिरको मुख्य भागमा सिंह माथि आसन गरी बसेकी रक्तकाली देवीको मूर्ति देख्न सकिन्छ जुन विभिन्न धातुबाट बनेको छ, जसको मूल्य नौ लाख परेको हुनाले नौ लाखे मुर्ति पनि भनिन्छ । यहाँ रहेको पाशीभरा देवीको नयाँ प्रतिमा नेपाल भरिकै सबै भन्दा अग्लो भगवतिको प्रतिमा हो । देवीको दर्शन तथा पूजा अर्चना सकिएपछि पाथीभराबाट देखिने हिमश्रृंखलाको अवलोकन गर्न पटक्कै नभुल्नुहोस् । यदि केही समय निकाल्न सक्नुहुन्छ भने पाथीभरा बाट कञ्चनंजघामा सूर्योदय र सूर्यस्तको अत्यन्तै सुमधुर मोहनीलाग्दो दृश्य हेर्न तथा यसलाई आफ्नो मोबाइल वा क्यामरामा कैद गर्ने अवसर नगुमाउनुहोस् ।
पाथीभरा देवीको मन्दिर निक्कै उचाईमा रहेकोले यहाँको तापक्रम हमेशा शुन्यको हारहारीमा झर्ने गर्दछ। अतःतीर्थयात्री तथा पर्यटकहरुले लेकलाग्न र न्यूनताप बाट जोगिन घरेलु उपचारको सामग्री जस्तै तातोपानी, भुटेको मकै, अदुवा, सातु, गरम खाध्य तथा पेयपदार्थ र न्यानो कपडाहरू साथै लगे अझ बेश हुन्छ। पाथीभरा देवीको दर्शनका लागि फाल्गुणदेखी कार्तिक महिनासम्मको अवधि अति उपयुक्त हुन्छ । मंसीर, पुस र माघ यी तिन महीना भै निकै जाडो र हिउँ पर्ने भएकाले अधिकांश मानिसहरू जान सक्दैन् ।
यस्तो धार्मिक, संस्कृतिक, दैवीक शक्ति तथा प्राकृतिक शौन्दर्यता अवलोकन गर्न तपाई हामी एकचोटि माता पाथीभरा देवीको मन्दिर जानैपर्छ । मनले चाहेको र आफुले पुकार गरेको सबै कुरा पुर्याउने पाथीभरा मातालाई आफ्नो जीवनकालमा एक पटक मात्र दर्शन गरे, उसले मनुस्य रूप धारण गरेर यस पृथ्वीमा जन्म लिएको सार्थक हुन्छ भन्ने धार्मिक विश्वास रहि आएको छ ।