विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको साख सुरक्षित गर्नै निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् ।
मोरङको रंगेलीमा बुधबार आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । उनले कांग्रेस विस्तारै बुढो हुँदै गएको व्यङग्य गर्दै बुढो रुख जोगाउनै निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाएको बताए । उनले चुनाव चिन्ह हरियो राख्न नहुने बिषयमा जोड दिए । उनले भने, ‘अब कांग्रेसमा लागेर केही हुनेवाला छैन । चुनाव चिन्ह हरियो हुँदैमा कांग्रेस बौरँदैन ।’
माओवादी केन्द्रबाट निर्वाचित रंगेली नगरपालिकाका प्रमुख दिलिपकुमार बगडिया र उप–प्रमुख केशवकुमारी खराल लगायतलाई पार्टी प्रवेश गराएपछि ओलीले कांग्रेसप्रति आक्रोश पोखेका थिए । देश निर्माणको रणनिति र भाबी कार्ययोजना बेगरै कांग्रेसले सरकार सञ्चालन गरिरहेको तर्क गर्दै उनले एमाले नेतृत्वको सरकार हुँदा मुलुकमा असाधारण ढङ्गले काम भएको दाबी गरे । उनले भने, ‘कांग्रेससँग भिजन छैन् । यस्तो ढुलमुले नितिले देश चल्दैन् । खोई त दुरदर्शीता ?’
मुलुकको परिवर्तित राजनितिक परिवेशबारे टिप्पणी गर्दै अध्यक्ष ओलीले काम गर्न बाधा अवरोध सिर्र्जना गरिएकै कारण आफुले यसअघि संसद विघटन गरिदिएको स्पष्ट पारे । आफु पनि काम नगर्ने, अरुलाई गर्न पनि नदिने अवस्था सिर्जना भएपछि बाध्यतावश संसद विघटनको कठोर कदम चाल्नुपरेको उनले जानकारी गराए । ‘कमिशनको लोभमा देशलाई अझै गरिबीको रेखामुनि धकेल्नेहरु एमालेबाट त्रसित भए,’ उनले भने, ‘उनीहरुकै कारण संसद सहजै सञ्चालन हुने अवस्था नदेखिएपछि जनतामा जाने अठोटका साथ संसद विघटन गरेका थियौं ।’
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको संसद विघटन सम्बन्धी अदालतको फैसलाप्रति पनि असन्तुष्टि व्यक्त गरे । अदालतले संसद विघटन बदर गरिदिएर एमाले र सम्पुर्ण देशबासीमाथि नै अन्याय गरेको तर्क गरे । नवप्रवेशीहरुलाई हौसला प्रदान गर्दै ओलीले भर्खरै पार्टीमा आएको भनेर कसैलाई पनि विभेद नगरिने वाचा गरे । मैथिली भाषामा सम्बोधन गर्दै उनले नवप्रवेशीहरुलाई पनि उनीहरुको दक्षताको आधारमा जिम्मेवारी प्रदान गरिने दाबी गरे ।
बुधबार आयोजित कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख र उप–प्रमुख सहित रंगेली नगरपालिका वडा नं. ७ का अध्यक्ष रामचन्द्र मण्डल तथा वडा नं. १ का अध्यक्ष महेशकुमार खनालले एमालेमा प्रवेश लिएका छन् । कार्यक्रममा उनीहरु सहित मोरङका ७ वटा पालिकाबाट ४ हजार ७१० जनाले पार्टी प्रवेश गरेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।
रंगेलीका प्रमुख र उप–प्रमुख सहित एमालेमा प्रवेश गरेका वडाध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित वडाध्यक्ष थिए ।