विराटनगर । कतारको राजधानी दोहामा आयोजना भएको “२०२२ अन्तर्राष्ट्रिय टेबुल टेनिस महासंघ (आइटीटीएफ) – एशियन टेबुल टेनिस युनियन (एटिटियु) कम्पिटिसन म्यानेजर सेमिनार“ मा बिराटनगर–३ निवासी आइटीटीएफ लेभल २ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक बिकेन थापा नेपालको तर्फबाट सहभागी भएका छन् ।
मार्च १८–२० सम्म आयोजना भएको सो सेमिनारमा नेपालका बिकेन थापा र तेजेन्द्र सिंह महरा लगायत ओमान, लेबनान, कजाकिस्तान, इरान, प्यालेस्टाइन, मंगोलिया र दक्षिण कोरियाबाट प्रशिक्षार्थीहरुले सहभागीता जनाएका थिए । थापाका अनुसार सो प्रशिक्षण कार्यक्रममा बिस्तारित रुपमा एउटा कम्पिटिसन म्यानेजरका कर्तव्य र जिम्मेवारीहरुका बारेमा जानकारी गराइएको थियो । त्यसबाहेक मुलतः आइटीटीएफको संरचना, अम्पायर तथा रेफ्री कमिटी, टुर्नामेन्ट डाइरेक्टर, हेड एफ कमिटीहरु को दायित्व, वेन्यु म्यानेजमेन्ट, अन वेन्यु रिजल्ट सिस्टम (ओविआर), अनलाइन एंट्री सिस्टम (ओइएस), सिडिङ र वरीयताक्रमको भिन्नता, म्याच ड्र र म्याच सेड्युल कसरी बनाउने भनेर प्रशिक्षण दिइएको थियो । संयोगवश यसै समयमा दोहास्थित लुसैल इन्डोर स्टेडियममा बिश्वस्तरीय मेन्स तथा वुमेन्स खेलाडीहरु सहभागी हुने “डब्ल्युटीटी कन्टेन्डर प्रतियोगीता“ समेत एकैसाथ आयोजना भैरहेको हुदा इजिप्ट मुलका कोर्ष कन्डक्टर मोहम्मद अल्दावलतली ले प्रतियोगीता स्थलमै लगेर ब्यावहारिक तालिम समेत दिएकाकाले सो कार्यक्रबाट निक्कै धेरै सिक्ने अवसर मिलेको जानकारी थापाले दिए ।