एमाले जिल्ला सदस्यसहित दलित अगुवाहरु माओवादीमा प्रवेश

<span class='c1'>एमाले जिल्ला सदस्यसहित दलित</span> <span class='c2'>अगुवाहरु माओवादीमा प्रवेश</span>

विराटनगर । प्रदेश १ को विभिन्न पार्टी र संस्थाहरुमा बसेर दलित आन्दोलनमा सक्रिय अगुवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीमा आवद्ध भई दलित आन्दोलनमा सक्रिय ३५ जना दलित अगुवाहरु सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सामाजिक कुप्रथा, छुवाछुत र विभेद विरुद्ध लामो समयदेखि आन्दोलन गर्दै आएका दलित समुदायका अगुवाहरुले नेतृत्व गरेको राष्ट्रिय दलित मञ्च माओवादी केन्द्रमा समाहित भएको हो । अरु पार्टींसँग दलितलाई मुक्ति दिलाउने कुनै एजेण्डा बाँकी नभएको र जातीय विभेद र छुवाछुत हटाएर विशेष अधिकार दिलाउने एक मात्र पार्टी माओवादी केन्द्र मात्र भएको भन्दै सोमबार एमाले निकट मुक्ति समाजका झापा उपाध्यक्ष तथा राष्ट्रिय दलित मञ्च केन्द्रीय अध्यक्ष भीमकुमार लकान्द्रीको नेतृत्वमा ३५ जना दलित अगुवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले प्रदेश १ का सल्लाहकार तथा दलित गैरसरकारी सस्था महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गोपाल लकान्द्री, एकीकृत समाजवादी पार्टी मोरङका सल्लाहकार नरेश घतानी र नेपाल दलित संघका केन्द्रीय सदस्य प्रेम लकान्द्रीलगायत छन्् । सोही कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य हर्कराज राई पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सोमबार विराटनगर प्रदेश कार्यालयमा दलित अगुवाहरुलाई माओवादी केन्द्रका प्रदेश १ सहइञ्चार्ज सावित्रीकुमार काफ्ले र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले खादा र अविर लगाएर पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र्रका नेता काफ्लेले नेपालमा प्रतिगमन पक्षधर र अग्रगमन पक्षधरशक्तिबीच तीब्र धु्रवीकरण भइरहेको बताए । उनले नेकपा एमालेले राजामहाराजा पक्षधर शक्तिसँग ध्रुवीकरण गरेर गठबन्धन गरिरहेको र नेकपा माओवादी केन्द्रको नेतृत्वमा कम्युनिष्ट क्रान्तिकारी र समाजवादी शक्तिहरुबीचको अर्को धु्रवीकरण बनिरहेको टिप्पणी गरे ।

संविधानमा उल्लेखित दलित अधिकारसँग सम्बन्धित व्यवस्थाहरु व्यवहारमा लागु गर्न निरन्तर पहल गर्ने लगायतका विभिन्न ९ बुँदे समझदारी गरेर माओवादी केन्द्रमा राष्ट्रिय दलित मञ्च समाहित भएको अध्यक्ष भीमकुमार लकान्द्रीले बताए । अहिले पनि समाजमा विभेदहरु कायमै रहेकोले क्रान्तिकारी कम्युनिष्टको नेतृत्वमा आन्दोलनको जरूरी भएको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी चिनेर काम गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले भने ‘नक्कली कम्युनिष्टहरुको बिगबिगी छ, कम्युनिष्ट पार्टी चिनेर आन्दोलन गर्दा मात्र सफल भइन्छ, असली कम्युनिष्ट पार्टी चिनेर हामी समाहित भएका छौं र यहीं रहेर आन्दोलन अगाडि बढाउनु पर्छ ।’ नेकपा एमालेबाट दलित, विपन्न वर्ग र श्रमिकहरुको हक प्राप्त हुन सक्दैन भन्ने ठहर आफूहरुले गरेको उनले बताए । अध्यक्ष लकान्द्रीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा दृढतापूर्वक लाग्नुपर्ने विचार पनि व्यक्त गरे ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य तथा किरात खुम्वान क्षेत्रका इन्चार्ज रहेका हर्कराज राई उक्त पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई पनि नेता काफ्लेले खादा ओडाएर पार्टीमा स्वागत गरेका थिए ।

माओवादी केन्द्र प्रवेश गरेका राईले लोसपामा विचार नमिलेपछि पहिचान, जातीय र वर्गीय मुक्तिको लागि कठिन संघर्ष गरेको माओवादी केन्द्रमा प्रवेश गरेको बताए । उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी समानुपातिकको एजेण्डा माओवादीकै कारण सम्भव भएको भन्दै ती मुद्दाहरुको सही कार्यान्वयन गर्न माओवादीले देशको नेतृत्व लिनु पर्ने बताए । त्यसका लागि सबै जाति समुदाय, दलित, महिला र गरिब वर्ग माओवादीले आगाडि सारेको नीति र कार्यक्रमलाई सफल बनाउन गोलबन्द हुन जरुरी रहेकोले आफूले पार्टी प्रवेश गरेको बताए ।

दलित आन्दोलनका अगुवा नरेन्द्र घतानीले माओवादीले जातीय र वर्गीय मुक्तिका लागि संघर्ष गर्दा अप्रत्यक्ष रुपमा सहयोग गरेको तर अहिले प्राप्त भएका उपलब्धिहरु गुम्ने खतरा उत्पन्न भएपछि पार्टी प्रवेश गरेरै संघर्ष गर्ने निर्णय गरेको बताए । उनले २०३६ सालदेखि कम्युनिष्ट आन्दोलनमा आवद्ध भएको स्मरण गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दिन माओवादी केन्द्रमा समाहित भएको बताए ।

अहिले कम्युनिष्टको नाममा नक्कली कम्युनिष्टहरुले जनतामा भ्रम बाँडिरहेको र उनीहरुले धेरै विकृति सिर्जना गरिरहेकोले त्यसको अन्त्य गर्न पनि माओवादी केन्द्रलाई सघाउनु पर्ने निष्कर्शमा आफूहरु पुगेको बताए । मुलुकको नेतृत्व माओवादी केन्द्रले नलिएसम्म नेपालीहरु दलाल नोकरसाहको जाँतोमा पिसिनु पर्ने अवस्था कायम रहने भन्दै उनले सबै उत्पीडित वर्ग, समुदायहरु माओवादीको झण्डामुनी गोलबन्द हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ्गले पार्टीमा अवद्ध समाजका अगुवाहरुलाई कम्युनिष्ट आन्दोलनमा विगतमा गरेको संघर्षकै निरन्तरताको रुपमा व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गरे । हाम्रोमत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्