विराटनगर । विराटनगरमा ३ महिने नेपाली सांकेतिक दोभाषे तालिम सुरु भएको छ ।
राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश नम्बर १ को आयोजना तथा करुणा फाउन्डेशन नेपाल सुनसरीको आयोजनामा बैसाख ६ गतेबाट ३ महिनाको लागी दोभाषे तालिम सुरु भएको हो ।
सो तालिमको लागी सामाजिक विकास मन्त्रालय तथा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर एकको सहकार्यमा सुरु भएको हो । करुणा फान्डेशनले प्रदेश नम्बर एकका जिल्लाहरुमा काम गर्दै आएको स्थानिय तहहरुबाट सिफारिस गरिएका व्यक्तिहरुलाई सो तालिम प्रदान गरिएको आयोजकले जनाएको छ ।
पहिलो चरण अन्तर्गत ईलाम पाँचथर, झापा , मोरङ, सुनसरी धनकुटा र संखुवासभा जिल्लाका २० जना प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गरिएको छ ।
३ महिने तालिमको मुख्य प्रशिक्षक मोहन तिवारी र सहायक त्रिलोचन तिम्सिना रहेका छन् ।
उद्घाटन तालिममा सामाजिक विकास मन्त्रालयका सचिव सिताराम ओझा, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नविन ढुङगेल, करुणा फाउण्डेशन नेपालका कार्यक्रम व्यावस्थापक कमल कोईराला, कोशी बहिरा संघ मोरङ अध्यक्ष सुनिता तिवारी र राष्ट्रिय सांकेतिक भाषा संघ नेपालकी सचिव सन्तोषी घिमिरे लगायतले शुभकामना मन्त्यव्य राखेका थिए ।