विराटनगर । विराटनगर–२ तीनपैनीमा रहेको नाङ्लो मःमः रेष्टुराँमा बिहीबार दिउँसो अचानक आगलागी भयो । ग्यास लिकेजका कारण आगलागी हुँदा क्षणभरमै होटल जलेर नष्टभयो । होटलको उत्तरमा बिनोद दुगडको घर र दक्षिणमा अर्को पक्की घर छ । होटलमा लागेको आगोले यी दुवै घरमा समेत क्षति पु¥यायो । तर, पक्की घर भएका कारण बाहिरी परिसरबाट भेट्ने जति सीसाका झ्याल जलेर झरेका छन् ।
व्यस्त बजार र सुगमस्थलमा रहेको होटलमा आगो लाग्नसाथ विराटनगर महानगरको बारुणयन्त्र शाखा र प्रहरीलाई खबर गरिएकोे थियो । तर, होटल पूर्ण क्षति हुँदा मात्रै दमकल आईपुग्यो । प्रहरी र नगर प्रहरीे पनि दमकलसँगै उपस्थित भए । आगलागी भएको स्थानदेखि २०० मिटर उत्तरमा बारुणयन्त्र कार्यालय छ भने दुईसय मिटर दुरीमा वडा प्रहरी कार्यालय (क) छ । आगलागी भएको स्थानदेखि ५० मिटर दुरीमा विराटनगर महानगरपालिाको कार्यालय छ ।
होटलमा क्षति पुगेर आसपासका दुई घरमा आगो छिरिसक्दा मात्रै दमकल आएपछि आक्रोशित भीडले विराटनगरका मेयर नागेश कोइराला विरुद्ध नाराबाजी समेत गरेको थियो । त्यस अगाडी नगर प्रहरीका प्रमुख राजन पौडेलसँग आक्रोश पोखिएको थियो ।
इश्वर बास्तोला सञ्चालक रहेको होटल बाँसका सामाग्रीबाट निर्माण गरिएको थियो । जसका कारण आगो सल्किएको आधा घण्टा नपुग्दै होटलमा पूर्ण क्षति भएको थियो । नगर प्रहरी प्रमुख पौडेलका अनुसार ग्यास लिक भएर आगो लागेका कारण त्यसको फैलावट चाँडो भएको थियो । सुरुमा एउटा र पछि थप दुईवटा दमकल घटनास्थलमा आएर आगो नियन्त्रणमा लिइएको नगर प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।
आगलागी हुँदा होटल भित्र रहेका छ वटा ग्यासका सिलिण्डर पड्किएका थिए । ठूलो आवाजमा सिलिण्डर पड्कँदा सडकमा रहेका नागरिक जोखिममा थिए । तर, घटनास्थलबाट नागरिकलाई सुरक्षित स्थानमा पठाउने प्रहरीको उपस्थिति समेत ढिलो भएको थियो ।
मोरङ प्रहरीका डिएसपी राजन कार्कीले आगो नियन्त्रणमा आएसँगै क्षतिको प्रारम्भिक विवरण संकलन भईरहेको जानकारी दिए । डिएसपी कार्कीले आगलागी हुँदा प्रहरी भन्दा प्राथमिकता दमकल हुने बताए । घटनास्थल नजिकै घर भएका स्थानीय अरुण सुरानाले महानगरको बारुणयन्त्र शाखालाई बारम्बार फोन गर्दा पनि नउठाएको आरोप लगाएका छन् । प्रहरी र बारुणयन्त्र कार्यालयमा बारम्बार फोन गर्दा पनि उठाएनन्, सुरानाले गुनासो गर्दै भने–व्यस्त बजारमा भएको आगलागीलाई समेत गम्भीरतापूर्वक लिइएको देखिएन । होटलमा पूर्ण क्षति भईसकेपछि आएको दमकलले आसपासका दुई घरलाई पूर्ण क्षतिबाट जोगाएको थियो । तर, दुवै घरमा आंशिक क्षति भने भएको छ ।