विराटनगर । विराटनगरबाट सोमबार अपहरित एक वर्षीया बालिका निकिशा यादवलाई ४८ घण्टापछि प्रहरीले उद्धार गरेको छ । गत सोमबार बिहान ९ बजे विराटनगर–१२ रोडषेशचौकबाट अपहरणमा परेकी बालिकालाई भारतीय प्रहरीको सहयोगमा बुधबार बिहान ८ बजे सकुसल उद्धार गरिएको हो ।
मोरङको बुढिगंगा गाउँपालिका–१ का दिपेन यादवकी छोरी अपहरणमा संलग्न आरोपित विराटनगर–६ रामपुरका २७ वर्षीय रविन्द्रकुमार साह र विराटनगर–५ कारखाना टोल बस्ने २७ वर्षीया अनु साहलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजानिक गरेको छ ।
मोरङ प्रहरीले घटनाको विस्तृत जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले योजना बनाएर बालिका अपहरण गर्ने र फिरौती माग्ने उद्देश्य देखिएको जानकारी दिनुभयो । घटनाका मुख्ययोजनाकार रविन्द्रकुमारले अनु साहसँग बालिकाका बुबा दिपेन यादवको चिनजान दुई महिना अगाडी मोवायल सम्पर्कमार्फत सुरु गराएको अनुसन्धानमा देखिएको छ । चिनजान गाढा बन्दै जाँदा दिपेन र अनुबीच भएको कुराकानीमा आफ्नी श्रीमती काठमाण्डौं बस्ने र आफुसँग छोरी रहेको जानकारी गराएपछि अपहरणको योजना बुनेर १५ लाख फिरौती माग्न खोजेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको दावी छ ।
अनुले दिपेनलाई छोरी हेर्न मन लागेको भन्दै बुढीगंगाबाट रोडशेष लिएर आउन भनेको र आएपछि दिपेनको कारमा बसेर महेन्द्र मोरङ क्याम्पस अगाडीको चिया पसलमा पुगेका थिए । त्यसपछि छोरी लिएर हिँडेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो । चिया पसलमा पुगेपछि आफुले फोन गर्नुपर्ने भएको भन्दै दिपेनको मोवायल समेत अनुले लिएको खुलेको छ । चिया पसलबाट बालिकालाई बोकेर फोन गर्ने निहुँमा निस्केपछि अनु नजिकै पर्खेर बसेका घटनाका मुख्य योजनाकार रविन्द्रको मोटरसाइकल चढेर सुनसरीको दुहबी–इनरुवा हुँदै सप्तरीको राजविराज–कुनौलीबाट भारतको दरभंगा पु¥याएको खुलेको छ ।
बालिकालाई अपहरण गर्नका लागि रविन्द्रले प्र०१–०२०४६ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो । भारतको दरभंगामा बच्चा पु¥याएपछि अनु त्यहिं बसेको र रविन्द्र फर्केर आएको खुलेको छ । रबिन्द्रले बालिकाका हजुरबुबा दिपक यादवलाई विभिन्न मोवायलबाट म्यासेज गर्ने गरेका थिए । भारतमा पु¥याएकी बालिकालाई विकास साह नाम गरेका व्यक्तिको घरमा राखिएको देखिएको छ ।
प्रहरीले घटनापछि मोवायल ट्रेस गरेर रबिन्द्र साहलाई आइतबार पक्राउ गरेको थियो । त्यसका आधारमा बालिकालाई भारत पु¥याएको खुलेको हो । त्यसपछि भारतीय प्रहरीसँगको समन्वय गरेर घटनास्थलबाट बालिकाको उद्धार र अपहरणमा संलग्न रहेकी साहलाई नियन्त्रणमा लिएर सीमा क्षेत्रसम्म ल्याइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।
प्रहरीले दुवैजना विरुद्ध अपहरण तथा शरिर बन्धक मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो । फौजदारी संहिता २०७४ अनुसार ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि एकलाख रुपिँयासम्म जरिवाना हुने प्रावधान रहेको छ ।
प्रहरीले अपहरणमा संलग्नको साथबाट पाँचथान मोवायल बरामद गरेको छ । अपहरणका लागि अर्को व्यक्तिको विवरणमा मोवायलको सीम झिकेको समेत प्रहरीले आशंका गरेको छ ।