१७ बर्षसम्म अमेरिका बसेर फर्किएका नायक सरोज खनालले नेपाली फिल्मको आलोचना गरिरहनेले एकपटक प्रेमगित हेर्न आग्रह गरेका छन् । माघ २९ देखि प्रदर्शनरत प्रेमगित तेश्रो हप्तासम्म आइपुग्दा पनि हाउसफुल प्रदर्शन भइरहदा फिल्मका मुख्य कलाकार समेत रहेका नायक खनालले यस्तो आग्रह गरेका हुन् ।
फिल्म बनाउँदा प्रयोग गरिएको उच्च प्रविधि, युवा टिम, निर्देशनमा पोख्त निर्देशक सुदर्शन थापा, लगानीमा कुनै कञ्जुस्याई नगर्ने निर्माता सन्तोष सेनको मेहनतले नेपाली फिल्म अब अन्तराष्ट्रिय स्तरको बन्न थालेको उनले बताए । ‘प्रेमगितको मेकिङले अब नेपाली सिनेमा नेपालमै सिमित रहदैन् । तर यसलाई निरन्तरता दिन जरुरी छ । बलिउड र हलिउडमा प्रयोग हुने प्रविधि र त्यै अनुसारको मेहनत गर्ने हो भने हामी पक्कै पनि अन्तराष्ट्रियस्तरको फिल्म मेकिङमा पूग्छौँ ।’ उनले भने ।
निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनको अथक मेहनतले प्रेमगित सफल भएको भन्दै उनले यसलाई निरन्तरता दिन आवश्यक रहेको बताए । सधै आलोचना गर्नेहरुले प्रेमगित हेरेपछि नेपाली सिनेमा यस्तो पनि ! भन्न पाउने उनले दाबी गरे । फिल्म बनाउने प्रविधि उही भएकाले अब सोचाई र फिल्मको प्रस्तुतीमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
प्रेमगित हेरेर नेपाली फिल्मको विकास भएको भान दर्शकलाई हुने नायक खनालेको भनाई छ । सुदर्शन थापा निर्दे्शित प्रेमगितमा स्टारर प्रदीप खड्का र पूजा शर्मासंगै लिड रोल खेलेका उनले नेपाली सिनेमा स्तरीय भएन भन्नेलाई गतिलो जवाफ भएको पनि बताए ।
नायक प्रदीप र पूजा शर्माको मुख्य अभिनयसंगै फिल्ममा बुवाको भूमिका निभाएका नायक खनालको नेपाल फर्केपछिको दोश्रो फिल्म हो प्रेमगित । उनले यसअघि नाइ नभन्नु ल २ मा छोटो अभिनय गरेका थिए भने उनको आगामी भूमिका रहेको फिल्म नाई न भन्नु ल ४ प्रदर्शनमा आउँदैछ ।
यसबीचमा विभिन्न कलाकारले प्रेमगित बलिउड स्तरको फिल्म बनेको प्रतिक्रिया दिइरहेका बेला प्रेमगितमै अभिनय गरेका नायक सरोज खनालले यो फिल्मले नेपाली फिल्म क्षेत्रलाई नयाँ उचाईमा लिएर जाने पनि बताएका छन् ।
साभार : एक्टर नेपाल