झापा, २० फागुन ।
पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी तस्करी हुने कुरा नौलो होइन । साना पोके तस्करसँग प्रहरीको लुकामारीको दृश्य जो कोहीले देख्न सके पनि ठूलो परिमाणमा हुने सुपारी तस्करीको तरिका प्रहरीले समेत सुइँको पाएको थिएन । तर, बुधबारको घटनाले मेची भन्सार कार्यालयका माथिल्लो तहका कर्मचारीको मिलेमतोमै भन्सार परिसरभित्रैबाट सुपारी तस्करी हुने गरेको तथ्य प्रहरीले सतहमा ल्याएको छ । प्रहरीले कुचो बोकेको ट्रकमा ठूलो परिमाणमा सुख्खा सुपारी लुकाएर भन्सारमार्फत भारत निकासी गर्न तयारी गरेको अवस्थामा मेची भन्सार कार्यालयको यार्डमा फेला पारेपछि भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी हुने गरेको तथ्यबाहिर आएको हो । प्रहरीले भन्सार यार्डबाट पीबी ९८०९ नम्बरको ट्रकमा करिब ५५ लाख मूल्यको ६० किलो दरका २ सय ७४ बोरा सुपारी फेला पारेको छ । सुपारीको भारत निर्यात प्रतिबन्धित भएको बेला तस्करहरुले गाडीको माथिल्लो भाग कुचोले छोपेर त्यसभन्दा तल सबै सुपारीका बोरा राखेको अवस्थामा ट्रक फेला परेको हो ।
जम्मा १० वटामध्ये नौ वटा कुचोका गाडी अझैं खोलिएको छैन । बुधबार बिहानै भन्सार प्रवेश गरेका ती ट्रक रातिमात्रै भारत निकासी हुने तयारीमा थिए । भन्सारले राति मात्रै प्रज्ञापनपत्र दिएर ती ट्रकलाई वैधानिकरुपमा भारत जाने अनुमती दिने अवस्था थियो । प्रहरीले सुराकीका आधारमा यार्ड प्रवेश गरेर चेकजाँच गर्न लागेपछि भन्सार अधिकृत दीपेन्द्रकुमार झालगायतका कर्मचारीले कुचोको ट्रकमा सुपारी हुनै नसक्ने भन्दै पल्टी गर्न आनाकानी गरेका थिए । प्रहरीका अनुसार मंगलबार राति धुलाबारीस्थित प्रदीप चौधरीको नाममा रहेको चौधरी कुचो उद्योगको गोदामबाट सो गाडीमा सुपारी लोड गरिएको हो । उक्त कुचो उद्योगले झापाका सुपारी व्यापारी श्याम पिन्टुलाई गोदाम घर भाडामा दिएर त्यहीमार्फत तस्करी धन्दा गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । यता मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले कुचोलगायतका कृषिजन्य उत्पादनमा चेकजाँच नगर्ने गरिएको र यस्तो धन्दा यसअघि पनि हुन्थ्यो अथवा यो पहिलो पटक हो भन्नेबारे आफूलाई थाहा नभएको बताउनुभयो । पूर्वको झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा मात्र उत्पादन हुने सुपारीलाई विराटनगरको रानी भन्सारबाट मात्रै निकासी गर्न पाउने सरकारी प्रावधान छ । तर, झापाका केही तस्करले भने तेस्रो मुलुकबाट सुपारी आयात गरेर पूर्वको काँकडभिट्टा नाकाबाट भारत तस्करी गर्ने गरेका छन् ।-मकालु