विराटनगर । प्रदेश १ का स्थानीय उत्पादनसँग पर्यटकलाई जोड्न पर्यटन ब्राण्ड, लोगो र नारा तय गरिएको छ । पर्यटन तथा संस्कृति मन्त्रालयले असार १५ गते गठन गरेको पाँच सदस्यीय कार्यदलले मंगलबार मन्त्री खिनु लङ्वा लिम्बुलाई प्रतिवेदन बुझाएको हो ।
‘पृथ्वीको स्वर्ग–मेरो प्रदेश’ नारा अंतिक लोगोमा १४ जिल्लाका एकएक प्रमुख उत्पादन समेटिएको छ । कार्यदलका संयोजक एवं पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठले प्रतिवेदन बुझाउँदै स्थानीय उत्पादनसँग पर्यटकको लगाव बढाउने उद्देश्य राखिएको बताउनुभयो ।
हिमाल, पहाड र तराईको भू–भाग समेटिएको प्रदेश १ को सबभन्दा होचो स्थानदेखि अग्गो स्थानसम्मको चिनारी लोगोमा उल्लेख गरिएको छ । जिल्लागत रुपमा बिक्री हुनयोग्य वस्तु पर्यटकका लागि आकर्षित हुनसक्ने भन्दै त्यस्ता वस्तु तथा उत्पादनलाई तयारी राख्नुपर्छ भन्ने सन्देश लोगोमार्फत दिन खोजिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
जसमा मोरङको माछा, सुनसरीको बेसार, झापाको सुपारी, इलामको चिया, उदयपुरको तेजपत्ता, ओखलढुंगाको राडी, सोलुखुम्बुको सिंबी (बोडी), ताप्लेजुङको छुर्पी, पाँचथरको अलैंची, धनकुटाको इभोकार्डो, तेह्रथुमको ढाका, संखुवासभाको अल्लो, भोजपुरको खुकुरी र खोटाङका लौरोलाई लोगोमा राखिएको छ ।
व्यवसायी श्रेष्ठ संयोजकत्वमा गठित कार्यदलमा वरिष्ठ पत्रकार कौशल चेम्जोङ, पर्यटन विज्ञ दोर्जी सुशिल शेर्पा र जीतबहादुर राई सदस्य रहनु भएको थियो । मन्त्रालयका शाखा अधिकृत रामबहादुर थापा सदस्य सचिव रहनु भएको थियो ।
प्रतिवेदन बुझ्दै मन्त्री लिम्बुले सरकार र पर्यटन व्यवसायीको संयुक्त प्रयासले मात्रै पर्यटक भित्र्याउन सहज हुने बताउनुभयो । उहाँले प्रदेश १ को चिनारीयोग्य वस्तुहरुको प्रचारसँगै पर्यटकलाई लोभ्याउने अन्य क्षेत्र तथा वस्तुको पहिचान आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेशका उत्पादनसँग जोडेर पर्यटन क्षेत्रको विकास खोज्दा त्यसले पर्यटकीय गन्तव्य बाहिर रहेका नागरिकलाई समेत सहभागी हुने अवसर दिने बताउनुभयो ।
पर्यटन व्यवसायीहरुले प्रदेश १ मा पर्यटक भित्र्याउन अहिले ‘क्रसबोर्डर’ अनुभव र सहजीकरणको काम समेत भईरहेकोले नयाँ नारासहितको जिल्लागत पहिचानका वस्तुको प्रवद्र्धनले थप सहयोग पुग्ने बताएका छन् । इलाम माइजोगमाईका पर्यटन विज्ञ एवं कार्यदलका सदस्य जीतबहादुर राईले सरकारले प्रदेशलाई पर्यटनमैत्री प्रदेशको रुपमा घोषणा गरेर विभिन्न गन्तव्यमा पुग्ने प्याकेज मापदण्ड तयार पार्न आवश्यक रहेको बताउनुभयो ।