लगातार दोस्रो जित निकाल्दै अफगानिस्तान एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ।
युएईमा जारी प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान समूह विजेता भएर अघिल्लो चरणमा प्रवेश गरेको हो। पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएको अफगानिस्तानले दोस्रो खेलमा बंगलादेशमाथि सानदार जित निकाल्यो।
बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य अफगानस्तानले १८.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।अफगानिस्तानको जितमा नाजिबउल्लाह जाड्रानले १७ बलमा सर्वाधिक ४३ रन बनाए। यस्तै इब्राहिम जाड्रानले अविजित ४२ रन बनाए। हाज्रातुल्लाह जाजईले २३ र कप्तान मोहम्मद नाबीले ८ रन बनाए।
बंगलादेशका लागि शकिब अल हसन, मोसाडिक होसेन र मोहम्मद साईफुदिनले समान १-१ विकेट लिए।त्यसअघि शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।
उसका लागि मोसाडिक होसेनले अविजित ४८ रन बनाए। महमुदुल्लाहले २५ तथा मेहेदी हसनले १४ रन बनाए। आफिफ हसनले १२ र कप्तान शाकिब अल हसनले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अफगानिस्तानका मुजिब उर् रहमान र राशिद खानले समान ३-३ विकेट लिए।
यो जितसँगै समूह बी को अफगानिस्तानले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहँदै सुपर चारमा प्रवेश गरेको हो। अब यो समूहबाट बंगलादेश र श्रीलंकाबीच हुने खेलले सुपर चारमा प्रवेश गर्ने दोस्रो टोलीको टुंगो लाग्नेछ।