विराटनगर । मोरङमा नेकपा एमाले र जसपाबीच तालमेलसँगै संघ र प्रदेशसभा निर्वाचन क्षेत्रको यकिन भएको छ । जसपालाई १ संघीय निर्वाचन क्षेत्र र २ प्रदेशसभा निर्वाचन क्षेत्र दिएर एमालेले निर्वाचनमा जाने तयारी गरेको हो ।
जसको असर नेकपा एमालेका नेता जोगी मण्डल, जीवन घिमिरे, पर्शुराम बस्नेतलाई परेको छ । निर्वाचनमा लागिसकेका यी नेताहरुमध्ये केहिलाई स्थानीय तह निर्वाचनको आफ्ना उमेदवारलाई धोका दिएको निस्कर्षसहित योजनावद्ध रिङ्ग आउट गरिएको छ ।
जसपाले पाँचदलीय गठबन्धन छोडेर एमालेसँग देशव्यापी गठबन्धनको तयारी गरेको छ । जसको असर काँग्रेस र एमालेलाई मधेश प्रदेशमा पर्ने देखिन्छ । मोरङमा समेत त्यसको असर पर्नेछ । एमाले मोरङले केन्द्रमा सहमति भए मोरङको निर्वाचन क्षेत्र ५ जसपालाई दिने र सोही निर्वाचन क्षेत्रको १ र २ नम्बरको कुनै एउटा प्रदेश निर्वाचन क्षेत्र जसपालाई दिनेछ ।
मोरङको ५ नम्बर क्षेत्रमा जसपाले राजकुमार यादवलाई उम्मेद्वार बनाउने निश्चित छ । यस्तै एमालेले भने सो क्षेत्रमा जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डललाई उम्मेद्वार बनाउने तयारी गरेको थियो । उनी रिङ्ग आउट हुनेछन् ।
मोरङका निर्वाचन क्षेत्रको समीकरणमा भएको फेरबदलले काँग्रेस र माओवादीलाई असर पर्नेछ । एमालेले मोरङको क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, २ मा ऋषिकेश पोखरेल, ३ मा भानुभक्त ढकाल, ४ मा विनोद ढकाल, र ६ मा लालबाबु पण्डितलाई उमेदवार बनाउने भएको छ । अवस्थामा थप फेरबदल नआए एमाले मोरङमा पाँचजना संघीय निर्वाचनमा लड्नेछन् ।
नेकपा एमालेका नेता बिनोद ढकालले केन्द्रले गरेको निर्णय अनुसार अहिले मोरङमा ५ नम्बर क्षेत्र जसपालाई पर्ने संभावना बढेको जानकारी दिएका छन् । उनले ५ को (ख) र ४ (ख) पनि जसपाले पाउने भन्ने कुरा आईरहेको जानकारी दिएका हुन् ।
एमालेले जसपासँग गठबन्धन गर्दा सत्तापक्षीय दलको गठबन्धनबाट मोरङ क्षेत्र नम्बर १ मा डिकबहादुर लिम्बू, २ मा सुजाता कोइराला, ३ मा डा. सुनिल शर्मा, ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल र ६ मा डाक्टर शेखर कोइराला प्रतिस्पर्धामा उत्रने छन् ।