दुई पटकको उपाधि विजेता वेष्टइन्डिज सोमबार आईसीसी ट्वान्टी–२० विश्वकपमा स्कटल्यान्डसँग ४२ रनले पराजित भएको छ । सुपर–१२ मा स्थान बनाउनका लागि भएको प्रतिस्पर्धाको पहिलो खेलमा वेष्टइन्डिज तुलनात्मक रुपमा कमजोर मानिएको स्कटल्यान्डसँग पराजित भएको हो ।
होबर्टस्थित बेलेरिभ ओभलमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६० रन बनाएकाो थियो । १६१ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले १८.३ ओभरमा सबै विकेट गुमाएर ११८ रनमात्र बनाउन सक्यो ।
वेष्टइन्डिजका जसोन होल्डरले ३८ रन बनाउँदा काइल मायर्सले २०, ब्रान्डन किङले १७ र इभिन लेविसले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटल्यान्डका मार्क वाटले तीन विकेट लिए । वाटलाई ब्राड ह्वील र माइकल लिस्कले समान दुई तथा जोश डेभी र सफयान शरिफले एक एक विकेट लिएर साथ दिए ।
त्यसअघि स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले ६६ रन बनाए । कालुम म्याकलियोडले २३, मााइकल जोन्सले २० र रिचे बेरिङटनले १६ रन बनाए । क्रिज ग्रेभेस १६ रनमा अविजित रहे ।
वेष्टइन्डिजका अल्जारी जोसेफ र जसोन होल्डरले समान दुई विकेट लिए । ओडेन स्मिथले एक विकेट लिए ।
आजै हुने दोस्रो खेलमा आयरल्यान्डले जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो दिन नामिबियाले श्रीलंकालाई ५५ रनले हराएको थियो भने नेदरल्यान्ड्सले युनाइटेड अरब इमिरेट्स (यूएई)लाई तीन विकेटले हराएको थियो ।
पहिलो चरणबाट दुई समूहका विजेता र उपविजेताले सुपर–१२ मा स्थान बनाउनेछन् ।