विराटनगर । नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो) र नगर बालक्लब सञ्जाल, विराटनगरद्वारा संयुक्त रुपमा आदर्श माध्यमिक विद्यालयमा आयोजित 'स्टार पार्टी' शनिवार साँझ सम्पन्न भएको छ। शनिवार आयोजित सो कार्यक्रममा १५० भन्दा बढी मानिसहरूको सहभागितामा खगोलिय पिण्डहरू टेलिस्कोपको माध्यमबाट अवलोकन गराइएको थियो।
सो कार्यक्रममा टेलिस्कोपको माध्यमबाट चन्द्रमा, शनि ग्रह, वृहस्पति ग्रह र त्यसका उपग्रहहरु, मंगल ग्रह, प्लेडिज स्टार क्लस्चर, ओरायण कन्स्टिलेशन, इत्यादि अवलोकन गराइएको थियो। विराटनगर महानगरपालिकामा वैज्ञानिक समाजको विकास गर्ने उद्देश्य साथै खगोल तथा अन्तरिक्ष विज्ञानलाई प्रवर्द्धन गर्ने हेतुले सो कार्यक्रम आयोजना गरिएको सो कार्यक्रमका संयोजक ओशन शर्मा कट्टेलले बताए ।
नगर बालक्लब सञ्जाल, विराटनगरले विगत १ वर्षदेखि विराटनगरका विभिन्न स्थानमा खगोल तथा अन्तरिक्ष विज्ञानलाई लक्षित गरी यस प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा सञ्जालका सचिव उदिप पोखरेलले जानकारी दिए । यस किसिमका विज्ञानका गतिविधिहरुले अहिलेका बालबालिका, युवावर्गहरु तथा सर्वसाधारणहरुका जनमानसमा विज्ञानका विऊ विजारोपण गरी समुदायमा विज्ञान तथा प्रविधिमुलक वातावरण सृजना गर्न महत्वपुर्ण भूमिका खेल्दछ ।
त्यसकारण यस प्रकारका गतिविधिहरुमा पनि स्थानीय सरोकारवाला निकायहरुका विशेष ध्यान केन्द्रित हुन आवश्यक देखिन्छ।