काठमाडौं । एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले वाग्मती प्रदेशलाई जितको लागि ३०५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश एकले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ३०४ रनको योगफल बनायो ।
प्रदेश एकका सुरुआती ब्याट्सम्यान अङ्कित सुवेदीले सर्वाधिक ११० रनको योगदान गरे । एकसय ३४ बल खेलेका अङ्कितले १२ चौका र एक छक्का प्रहार गरे । त्यस्तै कप्तान सिद्धान्त लोहनीले ७२ रन जोडे । उनले ४० बलमा तीन चौका र आठ छक्कासहित ७२ रन जोडे ।
विवेक आनन्द मेहताले ३० रन जोड्दा नीरज मुखिया र फिरदोस अन्सारीले समान १०-१० रन जोडे । बलिङतर्फ वाग्मती प्रदेशका रामनरेश गिरीले पाँच विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ, प्रतिश जिसी र ईशान पाण्डेले समान एक एक विकेट झारे । वाग्मती प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।