विराटनगर । मोरङमा थप दुईवटा अस्थायी मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा निकायका सदस्य, कारागारका कैदीबन्दी र बृद्धाश्रममा आश्रित नागरिकले मतदान गर्नका लागि दुई मतदान केन्द्र थप गर्ने निर्णय गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार विराटनगर–८ स्थित मोरङ कारागार र विराटनगर–७ स्थित आदर्श पुस्तकालयमा मतदान केन्द्र थप गर्ने सिफारिस गरिएको हो ।
मोरङमा हालसम्म चारहजार ३१३ जना मतदाता यकिन भईसकेको छ । बाँकी तथ्यांक अझै अद्यावधिक भईरहेको छ । निजामति कर्मचारीसहित अन्य कर्मचारी, सुरक्षा निकायका सदस्य, कारागारका कैदीबन्दी र आश्रममा आश्रित नागरिकले संघीय निर्वाचन क्षेत्र अन्तर्गत समानुपातिकतर्फ मतदान गर्न पाउने छन् । त्यसका लागि विराटनगरलाई केन्द्र बनाएर दुईवटा मतदान केन्द्र थप गर्ने निर्णय गरेर निर्वाचन आयोगमा सिफारिस गरिएको अधिकारीले जानकारी दिनुभयो ।
मोरङका १७ स्थानीय तहमा ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्र छन् । त्यस बाहेक दुईवटालाई अस्थायी मतदान केन्द्रको रुपमा थपिने भएको हो ।