विराटनगर । राजनीतिक जीवनमा चर्चामा रहेका बिनोद ढकाल सरकार र सत्ताको नेतृत्वमा अहिलेसम्म पुगेका छैनन् । विराटनगरमा घर भएका उनी मोरङका स्थानीय नेतामा इमान्दार र सहजको रुपमा परिचित छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका ढकाल आगामी मंसिर ४ गतेको निर्वाचनको प्रतिक्षामा छन् । उनलाई मतदाताले रुचाउने वा नरुचाउने भविष्य ४ गतेपछिको परिणामले देखाउने छ ।
चुनावी अभियानका क्रममा क्षेत्र नं. ४ का मतदातालाई भेट्दै ढकालले सुकुम्बासीका रुपमा रहेका मुसहर, बाँतरलगायतका विपन्न समुदायका परिवारलाई पाँच वर्ष भित्रमा आफ्नै घरको मालिक बनाउँने आश्वासन दिएका छन् । उनले एक पटक आफूलाई विश्वास गरेर निर्वाचित गराए आफ्नोतर्फबाट नागरिकका पक्षमा केहि काम गर्ने दावी गर्दै आएका छन् ।
ढकाल स्थानीय नेतामध्ये सहज मानिन्छन् । उनलाई समस्या लिएर पुग्ने जोकोहीलाई सहयोग गर्न सक्ने जति उनी सहयोगी छन् । नहुने कामका लागि उनले सुरुमै हुनसक्दैन भन्ने स्वभाव राख्छन् ।
क्षेत्रका मतदातालाई भेट्दै हिडिरहेका ढकालले विपन्न समुदायलाई आफ्नै घरको मालिक बनाउँन र फुसको छानो विस्थापित गरेर टिनको छानो लगाउन विशेष आवास योजना ल्याउने बचन दिएका हुन् ।
विपन्नको जीवनस्तर उकास्न कृषिलाई आधुनिकीकरण र यन्त्रिकरण गर्ने, कटहरीमा रहेको कृषि बजारलाई व्यवस्थित गर्ने र आवश्यकता अनुसार ग्रामिण कृषि बजारको स्थापना गर्ने र युवालाई रोजगारीसँग जोड्ने आफ्नो योजना रहेको ढकालको भनाइ छ ।
उनले यस क्षेत्रका नागरिकले गुणस्तरीय शिक्षा पाउनु पर्ने, शिक्षा लिइसकेकाले रोजगारी पाउँनु पर्ने र स्वास्थ्यको सुविधा सहज हुनुपर्ने बताए । उनले यस क्षेत्रको खास समस्या पहिचान गर्ने र त्यसको समाधान गर्न सक्ने मानिसलाई मत दिनुपर्ने बताउँदै आफु यस क्षेत्रका समस्या समाधानका लागि योग्य भएको बताए । विगतमा यस क्षेत्रको प्रतिनिधित्व गर्नेले यहाँका समस्या समाधान गर्न नसकेको भन्दै एकपटक आफुलाई विस्वास गर्न उनको मतदातालाई आग्रह थियो ।
विराटनगरका पाँचवटा वडा, ग्रामथान र कटहरी गाउँपालिका र बेलबारी नगरपालिकाका ३ वटा सहित २३ वटा वडा रहेको मोरङ क्षेत्र नं. ४ बाट यस अघि माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका थिए । तिनै मोदी गठबन्धनकातर्फबाट ढकालसँंग चुनावी प्रतिष्पर्धामा छन् । मोदी पनि ढकालको तुलनाकै नेतामा पर्दछन् । उनले आफ्ना मतदाता मात्रै नभई सुनसरी–मोरङका उद्योगीको समेत मत जितेका छन् । सरकारले बजेटमा करका दर हेरफेर गर्दा मोदीकै पहलमा त्यसलाई संशोधन गर्न सफल भएको भन्दै विराटनगरमा उद्योगीहरुले एक कार्यक्रम गरेर उसको प्रशंसा गरेका थिए । त्यस बाहेक मोदी ग्रामिण जनताको दुःखमा सधैं साथ दिने नेतामा पर्दछन् ।