विराटनगर । गत कार्तिक ७ गते विराटनगर–१२ माबस्दै आएका सन्जयकुमार देव गयागए । उनी किचनसहितचार कोठाको घर भाडामा लिएर विराटनगर बस्दै आएका हुन् ।
कार्तिक १० गते फर्कदा उनको घरमा चोरी भएको थियो । बाहिरी मुख्य ढोकासहित घर भित्रका तीनवटा कोठाको ताला फोरेर सुनका गरगहना, मोवाईलसहितको सामाग्री चोरी भएका थिए ।
देवको दराज र लकर फुटाएर पाँचतोला सुनका गरगहना, नौ तोला चाँदी, नगद १४ हजार र सामसुङको २० हजार मूल्य पर्ने मोवायलसहितका सामाग्री चोरी भएको उनी बताउँछन् ।
भाई टिकाकै दिन फर्केका उनले स्थानीय बखरी प्रहरीलाई खबर गरे । प्रहरी पुग्यो, मुचुक्ला उठायो । प्रहरीले घटनाको अनुसन्धानमा दुईजना स्थानीय ११ र १३ वर्षीय बालक घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । उनीहरु दुवैजना देवको चोरी भएको घर नजिकैका हुन् ।
पक्राउ परेका उनीहरुलाई प्रहरीले छोडि दियो । घर चोरी भएर पीडित भएका देव अहिले चिन्तामा छन् । उनको चोरी भएको मोवायलमा उनै दुई बालकहरुले तिहार मनाउँदाको फोटो समेत खिचाएको भेटिएको छ । तर, पनि प्रहरीले उनीहरुलाई छोडि दिएको हो ।
विराटनगर–३ स्थित क्याम्पस मार्ग (नयाँट्रायल सेन्टर) नजिक भक्तिप्रसाद सिवाकोटकीको घरमा कार्तिक १३ गते राती चोरी भयो । निवेदक सौरभ मुन्धडाले जिल्ला प्रशासन कार्यालय मोरङमा दिइएको जानकारी अनुसार १८ तोला सुन, दुई बढी चाँदी, ८५ हजार नगद, ल्यापटप ब्याग, नागरिकता र एभरेष्ट बैंकको एटीएम कार्ड समेत हराएको छ ।
भाई टिकाकै दिन दिउँसो विराटनगर–२ स्थित एक घरमा साढे पाँच लाख मूल्य बराबरको सुन, चाँदी तथा नगदसहितको सामाग्री चोरिएको छ । तर, मोरङ प्रहरीले यी घटनामा संलग्न चोरको पहिचान अहिलेसम्मगर्न सकेको छैन ।
प्रहरीले विराटनगर–१२ को घरमा चार ताला तोडेर घर चोर्ने दुईजना बालक पक्राउ गरेपनि उनीहरुलाई छोडेर थप अनुसन्धान गरिरहेको छ । कलिलो उमेर भएकाहरुले मात्रै घरमा पसेर चार ताला फोरेर घर चोर्न नसक्ने ठम्याई गरेर प्रहरीले अनुसन्धानलाई फरक ढंगबाट बढाएको जानकारी दिइएको छ । पक्राउ परेका दुवैजना बालकले आफूहरुले घर चोरेर सुन २० हजार रुपिँयामा बिक्री गरेको बताउँदै आएकाछन् ।
घरधनी देवले भने बालकहरुलाई देखाएर अभिभावक नै संलग्न रहेको भन्दै प्रहरीमा किटानी दिएका थिए । तर, प्रहरीले त्यस विषयलाई गम्भीर रुपमा लिएको छैन । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले फरक ढंगले अनुसन्धान भईरहेको जानकारी दिनुभयो । बाँकी घटनामा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । हालसम्म प्रहरीले घटनामा संलग्न पक्राउ गरेर सार्वजानिक गरेको छैन ।