-निदेश आचार्य
महिनाको अन्त्यमा
मेरो खाली गोजीले
हात्ती खोजेझैं
मेला घुम्न जान संगिनीले
साथी खोजेझैं
मेरो तीस दिनको पसिनाले
कमाउने तलबभन्दा ज्यादाको
पहिरनभित्र पसेर
एउटा मान्छे मेरो
बुढी औंला खोज्दै आयो ।
मेरो घरको रासनभन्दा ज्यादा
पुग–नपुग इज्जत पोखाउँदै
भत्किएको बाटोमा
जुत्ताको पाइलालाई
इतिहास बनाउँदै
मुखको आवाजले
त्यही जीर्ण बाटो पिच बनाउँदै
एउटा मान्छे मेरो
बुढी औंला खोज्दै आयो ।
कास, म पनि
मेरो क्षमतालाई सुन्दर बनाइदिने
जागिर पाउन सक्थें ।
कास, म पनि मेरो परिवारलाई
इच्छा लागेको खुवाउन सक्थें ।
कास, मेरो भाइलाई
गरिबीले लात हान्दा
घरबाट उछिट्टिएर
प्लेन समाइ
विदेश जानुपर्दैन थियो ।
कास, मैले बाइक किनेकै दिन
मेरो लाइसेन्स बनाउन सक्थें ।
बाटोमा सुन्दरी हिंड्दा
रोड साइड रोमियोहरु टाँस्सिन खोजेझैं
कास, म बाटो हिंड्दा
धुलो मसँग टाँस्सिन आउँदैन थियो ।
कास, मैले पेट्रोल किन्न जाँदा
घरको रासन किन्न जाँदा
पर्सभन्दा पहिला क्याल्कुलेटर
निकाल्नु पर्दैन थियो ।
कास, कास, कास ।
कारखानाको चिम्नीबाट
धुँवा पुत्पुतिएर निस्केझैं
नौ बजे ठ्याक्क
अफिसको लागि श्रीमान् श्रीमती निस्केझैं
स्कुलको लागि विद्यार्थीहरु निस्केझैं
निस्किने यो कासहरुको अगाडि
‘वी’ जोडिदिन्छु भन्दै एउटा मान्छे
मेरो बुढी औंला माग्दै आयो ।
मन नपरेको मान्छेलाई देख्नासाथ
मुन्टो फर्काएझैं
नजर तर्काएझैं
मेलै उसलाई हेर्दा
मेरो आँखा बिग्रिजान्छ जस्तोगरी
मुन्टोलाई मोबाइलतिर फर्काएँ ।
ऊ माग्दै आयो बुढी औंला
मैले दिन्न भनें
किन दिने ? जो पायो त्यहीलाई ?
दिन्छु म मन लागेको मान्छेलाई ।
तर आजसम्म मैले आफ्नो मनले
दिएको बुढी औंलाले के गर्यो ?
मेरो मन परेको शरीरलाई
‘अल द बेस्ट’ भन्न पायो ?
उही औंला उल्ट्याएर
‘थम्ब्स डाउन’ त गर्न सकें ।
म जसलाई दिउँ
पक्का छ यही मान्छे हो पाउने
यही हो गर्ने शासन ममाथि ।
उही पुराना आउने हुन्
उही पुराना छाउने हुन् ।
आखिर के काम मलाई
यो मेरो बुढी औंला ?
मैले प्रस्ताव राखें
ल देऊ मलाई हजार दशवटा
टर्छ खर्च मेरो महिनाको ।
मेरो खाली गोजीमा
यो पालि, महिना नलागी
आए हात्ती ।
मैले उसलाई दिए
मेरो बुढी औंला काटेरै
सित्तैंमा जाने यो बुढी औंला
केही परिणाम नदिने यो बुढी औंलाले
फाइदै गरायो आज मलाई
आजसम्म नगराएको ।