विराटनगर । १ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित योग शिविर सम्पन्न भएको छ ।
पतन्जली योग समिति नेपालका युवा केन्द्रिय संयोजक लोकनाथ खनाल सहितको ४ जना योग प्रशिक्षक टोलीद्वारा प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराइएको हो ।
कार्तिक १८ गतेबाट संचालन भएको ५ कार्य दिन अवधिको योग शिविरमा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै बिभिन्न उन्नत तालिम तथा प्रहरी जवान आधारभुत तालिममा तालिमरत प्रशिक्षार्थीहरु समेत गरी ५५२ जनाको सहभागिता रहेको थियो ।
प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवाहमा लाग्ने विश्वासका साथ पतन्जली योग समिति नेपाल र नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौ बिच प्रहरी कर्मचारीहरुलाई योगाभ्यास गराउने सम्झौता भए बमोजिम नेपाल प्रहरी अन्तर्गतका कार्यालयहरू तथा प्रहरी तालिम केन्द्रहरुमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई पतन्जली योग समितिले योगाभ्यास गराउदै आईरहेको छ ।
साथै पतन्जली योग समितिद्वारा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरुलाई समेत मंगलबारबाट ५ कार्य दिनको योगाभ्यास शिविर संचालन गरेको छ ।