विराटनगर । विराटनगर–८ निवासी ८३ वर्षीय भीमबहादुर धिताल बिहीबार घरमै बसिरहनु भएको थियो । ज्येष्ठ नागरिक धितालको स्वास्थ्य जाँच गर्न स्वयम्सेवीका घरमै पुगेपछि उहाँ छक्क पर्नुभयो । त्यस्तै ९१ वर्षीया सुरेन्द्रकुमारी कोइरालाले समेत बिहीबार घरमै सुगर र प्रेसरको अवस्था घरमै थाहा पाउनुभयो ।
विराटनगर महानगरपालिका वडा कार्यपालिका ८ ले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण घरमै गर्ने अभियान सुरु गरेपछि धिताल र कोइराला जस्तै धेरैको भित्त प्रशंन्न भएको हो ।
घरमै आएर स्वास्थ्य जाँच गर्न सुरु गरेको खबरले ज्येष्ठ नागरिक दंग देखिएका थिए । वडाकै कार्यक्रम भएपनि यसअघि कहिल्यै पनि घरमै आएर स्वास्थ्य जाँच नगरिएको ८३ वर्षीय धितालको अनुभव छ । ‘घरमैस्वास्थ्य जाँचेर औषधी दिएकोमा अत्यन्तै खुसी भएँ’ धितालले भन्नुभयो–हामीले खोजेको यहि भर हो । उहाँले ज्येष्ठ नागरिकलाई माया गर्नेको सधैं उन्नती हुने र परिवारबाटै अपहेलित हुनुपर्ने अवस्थाको यस्तो कार्यक्रमले अन्त्य गर्नसक्ने बताउनुभयो ।
विराटनगर महानगरपालिका वडा नम्बर ८ ले ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँचको सेवा घरदैलोमा पु¥याउने अभियान सुरु गरेको हो । बिहीबारदेखि घरघरमै पुगेर वडाभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरेर आवश्यकता अनुसार औषधी समेत वितरण थालिएको वडा अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।
स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने कार्यक्रम वडाले सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पोखरेलको दावी छ । स्वास्थ्य जाँचबाट समस्या देखिएका ज्येष्ठ नागरिकलाई औषधी, निःशुल्क वितरण गरिने छ ।
‘सानो समस्याका लागि पनि ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्नुपर्दा गाह्रो हुने भएकाले वडाले घरमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको छ’ अध्यक्ष पोखरेलले भन्नुभयो–यो बाह्रै महिना सञ्चालन गरिने छ ।