विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई मतदाता शिक्षासम्बन्धी जानकारी गराएको छ । मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ अनुसार स्थानीय तहको जिम्मेवारीमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअहरूलाई महानगरले मतदाता शिक्षाबारे जानकारी गराएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यका साथ महानगर क्षेत्रभित्र सञ्चालित विद्यालयका प्रअहरूलाई मतदाता शिक्षाबारे जानकारी गराएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले प्रअहरूले विद्यालय गएर विद्यार्थीलाई मतदाता शिक्षाबारे जानकारी गराउने जिम्मेवारीसहित मतदाता शिक्षा दिइएको जानकारी दिनुभयो ।
कोइरालाका अनुसार यसले मत बदर संख्या घटाउने छ । महानगरले प्रअमार्फत विद्यार्थीलाई र विद्यार्थीमार्फत अभिभावकलाई मतदाता शिक्षा बाँड्ने लक्ष्य राखेको कोइरालाले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कोइरालासहित शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि, सामुदायिक विकास शाखा प्रमुख पुनम दाहालले प्रअहरूललाई मतदाता शिक्षाबारे जानकारी गराउनु भएको थियो । महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका १८० जना प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।