विराटनगर । मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मत ल्याएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका नेता विनोद ढकालले २४ हजार ४६३ मतमा सिमित रहे ।
क्षेत्र नं. ४ मा १ लाख १० हजार ९३ मतदाता थिए । त्यसमध्ये ७४ हजार ७४४ मत खसेको थियो । मोदी ६ हजार १४९ मतान्तरले ढकालसँग जीत निकाल्न सफल भए । उनी दोस्रो पटक यस क्षेत्रमा निर्वाचित सांसद भएका छन् । एक पटक समानुपातिकमा निर्वाचित सांसद भईसकेका छन् । २०७४ मा नेपाली काँग्रेसका महेश आचार्यलाई ६ हजार ७२९ मतान्तरले पराजित गरेका मोदीले यो निर्वाचनमा पनि एमालेका ढकालले त्यहि हाराहारीको मतले खिचिदिए । आचार्यसँग मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका थिए भने प्रतिस्पर्धी बनेका आचार्यले २६ हजार ८ सय मत पाएका थिए ।
निर्वाचन प्रचारमा धेरै हल्लाखल्ला गर्न नचाहेका मोदी ग्रामिण क्षेत्रसँग धेरै भर परेका थिए । उनले राखेको भर अनुसारको मत पाएपनि । विराटनगरका मतदातासँग डराएका मोदीलाई शहरले समेत उस्तै विश्वास गरिदियो । एमालेका प्रतिस्पर्धी बिनोद ढकालले निर्वाचन प्रचारमा देखाएको शैलीसँग उनले कहिल्यै सहमत जनाएनन् । काउन्टरमा निर्वाचन प्रचारका गतिविधि समेत गरेनन् । उनको आफ्नै शैली र काँग्रेससँगको सहकार्यलाई विश्वास बढाउँदै उनले आफ्नो जीत सुरक्षित गरेका छन् ।
माओवादी आन्दोलनबाट उदाएका मोदीले अहिलेसम्म पराजयको स्वाद चाखेका छैनन् । २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट निर्वाचित भएका मोदी २०७४ र २०६९ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ उम्मेद्वार बनेका बन्ने अवसर पाएका छन् । थारु समूदायको बाहुल्य रहेको सो क्षेत्रमा उनी कहलिएका र चिनिएका नेतामा पर्दछन् । उनलाई धेरैले सरल र शान्त स्वभावको भनेर चिन्ने गरेका छन् । उनको जीवनशैलीले ग्रामिण मतदाता आकर्षित थिए ।
बावु पवनलाल र आमा वालोदेवी मोदीको कोखबाट २०४२ असोज ५ गते जन्मिएका मोदी ३७ वर्षका मात्रै भए । स्नातक अध्ययन गरेका उनी विद्यार्थी राजनीतिबाट उदाएका हुन् । माओवादी आन्दोलनका क्रममा २०६० सालमा पक्राउ परी दुई वर्ष ३ महिना जेल जीवन बिताएका उनी नेता भन्दा धेरै नागरिकको हैसियतमा भेटिने गरेका छन् ।