काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली नामिबियाबीचको खेल वर्षाको कारण रद्द भएको छ ।
नेपालले जितका लागि दिएको एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाका कारण खेल रोकिएको हो । नामिबियाले चार बलमा चार रन बनाउँदा पानी नरोकिएपछि खेल रद्द भएको हो ।
त्यसअघि नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९७ रनमा समेटिएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९४ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा ७५ रनको योगदान दिएका हुन् ।
त्यस्तै अर्जुन साउदले र गुलसन झाले समान १८÷१८ रन जोडे भने आसिफ शेखले २० रन बनाए । कप्तान रोहित पौडेल १० रनमा रन आउट भए । कुशल भुर्तेलले १३ तथा सोमपाल कामी १० रनमा आउट भए ।
नामिबियाका टांगेनी लंगामेनीले तीन विकेट लिए भने कार्ल बिरकेनस्टोकले दुई विकेट लिए । त्यस्तै जेरार्ड इरास्मस, बेर्नार्ड शोल्ट्ज र जेजे स्मितले समान एक–एक विकेट लिए । यस खेलसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । यसअघि नेपालले खेलेका २० खेलमा आठमा जित, ११ मा हार र एक खेल बराबरी भएको थियो । उक्त सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल यही मङ्सिर १८ गते स्कटल्यान्डसँग खेल्नेछ ।