२०८९ सालमा राजनीतिबाट विश्राम लिन्छु : विजयकुमार गच्छदार

<span class='c1'>२०८९ सालमा राजनीतिबाट विश्राम लिन्छु</span> <span class='c2'> : विजयकुमार गच्छदार</span>

विराटनगर । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले दुई ठूला पार्टी मिलेर देशलाई अस्थिरतामा जानबाट रोक्नुपर्नेमा जोड दिएका छन्।

विराटनगरमा आज (बिहीबार) पत्रकार सम्मेलन गरेर उनले यस्तो भनाइ राखेका हुन् ।

अहिलेको पाँचदलीय गठबन्धन मिलेर निर्वाचनमा जाँदा कुनै पनि दलले बहुमत ल्याउन नसकेको बताउँदै उनले काँग्रेसको नेतृत्वमा गठबन्धनबाट सरकार बन्न सके पनि अस्थिर हुने दाबी गरे। उनले अस्थिर सरकार हुँदा संविधान र व्यवस्था कमजोर हुनसक्ने उल्लेख गरे।

एक पटक ठूला पार्टी मिलेर जाँदा ०४६ सालमा प्रजातन्त्र ल्याएको स्मरण गर्दै उनले भने, ‘०६२/६३ मा राजतन्त्र अन्त्य गरे, त्यसरी नै अहिले आउन लागेको अस्थिरतालाई अन्त्य गर्न नेपाली काँग्रेस र एमाले दुवै मिलेर ५ वर्ष सरकार चलाए हुने थियो।’

आफू चुनावमा पराजित भएको प्रसंगमा चुनाव हार्नुमा उपेन्द्र यादव कारण रहेको आरोप लगाउँदै उनले यादवका कारण अस्थिरता आउन लागेको आरोप पनि लगाए।

आफूले उपेन्द्र यादवसँग लामो कुरा गरेको र मधेश आन्दोलनको जस उपेन्द्र यादवले पाए पनि काँग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेतिर जानुको कारण पनि यादवलाई सोधेको उनले बताए।

उनले भने, ‘मैले उपेन्द्रजीसँग कुरा गर्दा भनेको छु, तपाईंको कारणले अस्थिरता आउने भयो भनेर।’ उनले जसपा पनि काँग्रेससहितको गठबन्धनमा भएको भए अस्थिरताको अवस्था नआउनेमा जोड दिए।

उनले उपेन्द्र यादवतर्फ इंगित गर्दै मधेश आन्दोलनका वेला मधेशविरोधी भनेर केपी ओलीलाई भनेको तर चुनावमा भने एमालेसँगै मिल्नु राम्रो नभएको उनको भनाई थियो।

उनले काँग्रेस र एमालेको सरकार बनेमा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्ष बन्ने दाबी उनको थियो।

७ पटक निर्वाचनको मैदानमा उत्रिएका गच्छदारले पहिलो पटक एमाले नेतृ भगवती चौधरीसँगको पराजयले हारको स्वाद चाखेका छन्।

यो हारले आफू कत्ति पनि निराश नभएको बताउने उनले अहिले नै सक्रिय राजनीति नछोड्नेमा जोड दिए। तपाईंको सक्रिय राजनीतिले कहिले विश्राम लिन्छ भन्ने प्रश्नमा उनले ०८९ सालमा सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने बताए।

उनले पत्रकारको प्रश्नमा भर्खरै सम्पन्न निर्वाचनको नतिजालाई देखाउँदै ८० वर्षको व्यक्तिले पनि चुनाव जितेको उदाहरण दिए।

प्रधानमन्त्री शेरबहादुर देउवाको उल्लेख गर्दै उनले ‘पार्टी सभापतिले ७७ वर्षको उमेरमा चुनाव जितेर आएको’ बताए। उनले भने, ‘उहाँ फेरि प्रधानमन्त्री बन्दै हुनुहुन्छ, त्यस्तै रामचन्द्र पौडेल पनि ७८ वर्षको हुनुभयो,’ उनले ठट्यौलो पारामा भने‚ ‘आफू भर्खरै ६९ वर्ष भएको र ७७ वर्ष पुग्न अझै ८ वर्ष बाँकी छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्