विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ का ७८ वर्षीय लखनलाल मण्डलले २०६८ सालमा विराटनगर १२ मा रहेको साविकको न्यू जनता बचत तथा ऋण सहकारी र हालको नेपाल सहकारी संस्थामा ६८ हजार रुपैयाँ कर्जा लिए । उनलाई त्यसबेला सहकारीका प्रबन्धक रहेका राजु शर्मा घतानीले ऋण दिएका हुन् । सिटी चलाएर आम्दानी भएको र छोराले विदेशबाट पठाएको पैसा जम्मागरी मण्डलले पटकपटक गरेर ६ लाख रुपैयाँ राजुलाई बुझाए । तर, मण्डलले बुझाएको पैसा राजुले सहकारीमा जम्मा गरिदिएनन् । लेखपढ नगरेका मण्डलले राजुलाई बुझाएको पैसाको भौचर पनि लिएनन् ।
‘ऋण लिएको पैसाँ बुझाएपछि २०७६ माघ १९ गते राजुले जग्गा पास गरिदिने भनेर विराटनगर मालपोत कार्यालय लगियो । मण्डलका अनुसार घतानीले भने झैं ल्याप्चे लगाए तर झुक्याएर अर्कैको नाममा रजिष्ट्रेसन गरिदिएछन् ।
राजुको विश्वासमा परेका मण्डलले आफ्नो नाममा रहेको १७ धुर जग्गा राजुकी श्रीमती सिर्जना खातीको नाममा पास गरेको पछि थाहा पाए । अहिले उक्त जग्गाको मूल्य प्रतिधुर पाँचलाख रुपिँया छ ।
मोरङमा पछिल्लो समय ठगी गरेर कमाउने धन्दा जालोको रूपमा फैलिएको छ । वित्तीय संस्था र सहकारीकै कर्मचारीको बदमासीमा परेर सोझा, निम्न र मध्यम वर्गीय धेरै मानिस लेनदेनको गलत फन्दामा परेका छन् । मोरङमा दुई महिनाको अवधिमा ठगी र मिटर ब्याजविरुद्धका ६४ वटा उजुरी परेका छन् ।
मोरङको जहदा वडा नम्बर ३ का ५४ बर्षीय जोगीन्दर ऋषिदेवले २०७१ सालमा स्थानीय अच्छेलाल राजवंशीसँग एक कट्ठा जग्गा धितो राखेर ३० हजार रुपैयाँ कर्जा लिएका थिए । उनले तीन वर्षपछि उक्त रकम फिर्ता गरे । ऋषिदेवले ऋण तिरेको कुनै कागजपत्र लिएनन् । ऋषिदेवको एक कट्ठा जग्गा अच्छेलालले आफ्नो नाममा पास गरी बेचेपछि मात्र थाह पाएका छन् । अहिले उनले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएर न्याय दिलाउन अनुरोध गर्दे आएका छन् ।
पीडित जोगिन्दरका अनुसार ‘२०७१ सालमा अच्छेलालसँग कर्जा लिएको र ३० हजारै फिर्ता गगर्दा पनि ५० हजार मागिरहेका छन् । लखनलाल र जोगिन्दर जस्तै मोरङमा झुक्याएर अर्काको जग्गा पास गर्नेको संख्या बढ्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा दुई महिनाको अवधिमा मिटर ब्याज विरुद्धमा ६४ वटा उजुरी परे । जसमा नौवटाको छलफल गरेर मिलाइएको छ । मिटर ब्याजीहरुले नीतिगत रुपमा दरिलो कागजपत्र तयार गरेर ठगी काम गर्ने गर्दै आएका छन् । यसरी ठगी गर्नेमा सरकारी कर्मचारी समेत छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदप्रसाद पोखरेलले रित पुर्याएर जग्गा राजीनामा पास गरेका कारण कतिपयको हकमा निर्णय गर्न पनि समस्या छ ।
कतिपयले घुमाउरो ऋण तिरिदिएर पनि जग्गा लिएका छन् । पहिलो व्यक्तिसँग ऋण लिदाँ जग्गा पास गरिदिएका कतिपयले दोस्रो व्यक्तिबाट ऋण लिएर फिर्ता गर्ने क्रममा सोझै पास गरिदिने हुँदा जग्गा हडप्नेका घटना समेत भएका छन् ।साविक विराटनगर उपमहानगरपालिका–११ हाल विराटनगर ८ का मंजिज मन्सुरीको जग्गा ऋण तिर्न पहिलो व्यक्तिलाई रकम दिएर सोझै आफ्नो नाममा ल्याएर समेत झुक्याएको भन्दै उनी अहिले कानुनी उपचार खोजिरहेका छन् । उनले सप्तरीका कृष्ण मोहन साहबाट ऋण लिदाँ उनको नाममा जग्गा पास गरिदिएका थिए । पछि अर्को व्यक्तिसँग ऋण लिएर साहलाई बुझाउँदा साहको नामबाट सोझै जग्गा दोस्रो पटक ऋण दिनेको नाममा नामसारी गराएर हडप्पिएको दावी गरेका छन् ।