सुजता लिम्बू
विराटनगर । प्रदेश १ मा नेकपा एमालेले पुष १० गते दलको नेता चयन गर्ने भएको छ ।
दलको नेता चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा दलको बैठक बोलइएको छ । प्रदेशसभा सांसद तथा एमाले नेता हिक्मत कार्कीले आइतबार बस्ने बैठकबाट दलको नेता चयन हुने जानकारी दिए । उनले बैठकबाट नै दलको नेता सर्वसम्मत चयन हुने बताए । प्रदेश १ को सबैभन्दा ठूलो दलकोरुपमा रहेको नेकपाए एमालेसँगै प्रदेशसभामा ४० जना सांसद छन् ।
प्रदेश १ प्रदेशसभामा नवनिर्वाचित सांसदहरुलाई शपथग्रहणका लागि ११ गते आव्हान गरिएको छ । एमालेले शपथग्रहण अगाडि नै दलको नेता चयन गर्दै गर्दा अन्य दलले दलको नेता चयन गर्ने सम्भावना कम देखिन्छ ।
प्रदेश १ मा दोश्रो ठूलो दलकोरुपमा रहेको नेपाली काँग्रेसले भने दलको ने चयन लगायतका विषयमा छलफल गर्न भन्दै ११ गते बैठक बोलाएको छ । दलको नेता चयन लगायतका विषयमा छलफल गर्न भन्दै काँग्रेसले बैठक बोलइएको हो । काँग्रेसमा मुख्यमन्त्रीको अपेक्षसहित दलको नेतामा धेरै आकांक्षी देखिएकाले आफसी समझदारी र छलफलले सोही दिन दलको नेता चयन गर्न भने सम्भव कमै देखिन्छ ।
काँग्रेस प्रदेश १ का सभापति तथा प्रदेशसभा सदस्यसमेत रहेका उद्धब थापाले बैठकमा दलको नेता चयनको विषयमा छलफल हुने बताउदै उनले चुनावी प्रक्रियाबारे निर्णय हुनसक्ने समेत जानकारी दिए । उनले १५ गते सम्ममा दलको नेता चयन हुने जानकारी दिए । नेपाली काँग्रेसको प्रदेशसभामा २९ जना सांसद रहेका छन् ।
शपथ ग्रहणपछि दलको बैठक बसेर सहमतिको आधारमा दलको नेता चयन गर्ने तयारी रहेको मओवादी केन्द्रका नेता एवम् प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले जानकारी दिए । प्रदेश १ मा तेश्रो रहेको मओवादी केन्द्रको प्रदेशसभामा १३ जना सांसद रहेका छन् ।
यस्तै चौथो स्थानमा रहेको राप्रपाले दलको नेता शपथग्रहण पछि नै चयन गर्ने जनाएको छ । सरकार गठन प्रक्रिया सुरु भएपछि दलको नेता चयन गर्ने राप्रपाको नेता भक्ति सिटौलाले जानकारी दिए । दलको नेता सर्वसम्मत ढंगले चयन गर्ने तयारी रहेको उनले बताए । राप्रपाको प्रदेशसभामा ६ जना सांसद रहेका छन् ।
चार जना सांसद रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि सपथग्रहण पछि नै दलको नेता चयन गर्ने जनाएको छ । जनता समाजवादी पार्टीको भने प्रदेश १ मा एक जनामात्रै सांसद रहेको छ ।