देवराज तामाङ
विराटनगर । विराटनगर महानगरपालिका प्रवेश गर्ने ढाटस्थित गेट जीर्ण बनेको छ । महानगरको पहिचान झल्काउने गेट नयाँ बनाउने प्रक्रिया बढेपनि कहिले ? भन्ने अन्यौलमा परेको हो ।
कोशी राजमार्ग अन्तर्गत विराटनगर–४ स्थित ढाटमा रहेको गेट नयाँ बन्ने प्रक्रियामा छ । विराटनगर महानगरपालिकाले यसको नयाँ गेटको डिजाइन बनाउने काम सकेर सडक विभागसँग स्वीकृत लिनका लागि पठाएको छ । महानगरपालिकाका इन्जिनियर अर्जुन थापाका अनुसार मौलिकपनसहितको प्रवेशद्वारको ढाँचा सडक विभाग पठाइसकिएको छ । विभागको स्वीकृतिपछि प्रवेशद्वार निर्माणको बाटो खुल्नेछ । त्यसका लागि आवश्यक बजेटको प्रवन्ध मिलाउनु पर्ने हुन्छ ।
भईरहेको गेटको अवस्था अति नै जीर्ण बनेकाले सुन्दरताका साथै महानगरको पहिचानमा समेत आँच आउने देखिएको छ । गेटमा जडान गरिएको लाइट समेत बिग्रिएको छ ।
रात्रीकालिन समयमा गेटमा बल्ने बक्तिहरु अहिले बल्दैनन् । गेटको माथिल्लो भाग चर्किएको छ । फलामले घेरीएको गेट कतै बाङगिएको छ भने कतै फलाम नै चोरी भएको अवस्थामा छ ।
उक्त गेटको पूर्वपटी पिपल र पश्चिमपटी बर उमरिएको थियो ।
तर विराटनगर महानगरकी उप–मेयर शिल्पा निराला कार्कीको नेतृत्वले २०७९ मंसिर २९ गते पिपल र बरको बोट ढाटगेटबाट उखालिएको थियो । उप–मेयरको सचिवालयले फेसबुक पेजमा उक्त कुराको जानकारी सार्वजानिक गरेको थियो ।
विराटनगरको पहिचान दिने गरि साविकको उत्तरी स्वागत गेट भत्काएर नयाँ बनाउनु पर्ने अवस्था आएपछि महानगरपालिकाले नयाँ स्वागत गेटको डिजाईन समेत तयार पारेको हो । महानगरपालिकाले २५ मिटर सडक क्षेत्र भित्र पर्नेगरि एक करोड ५० लाख लागतमा गेट निर्माण गर्न डिजाइन तयार पारेको थियो । त्यसको ढाँचामा मौलिकपन नभएको भन्दै पुनः त्यसलाई संशोधन गरेर स्वीकृतिका लागि पठाइएको हो ।
छ लेन सडक विस्तारपछी गेट निर्माण गर्नको लागी सुरुवात गरिएको थियो । छ लेन आयोजना इटहरीले समेत सडक सीमा मिचेको गेट भत्काउन पटक पटक माग गर्दै आएको छ । प्रदेश राजधानी रहेको विराटनगरमा सुन्दर स्वागतद्वार बनाउन प्रदेश सरकारले समेत चासो राखेको छैन ।
पहिलो पाँचवर्षे कार्याकाल सकिदाँसम्म गेट बनाउन आवश्यक बजेटको व्यवस्था नगरेको प्रदेश सरकारले छलेन सडक आयोजनासँग सडक बारे आयोजना गर्ने छलफलमा भने उक्त कुरा आयोजनाका प्रमुखले नै उठाएका थिए ।