विराटनगर । विराटनगर बिहीबार कुहिरोको घुम्टोले छोपिएको छ ।
हिउँदमा कुहिरोले छोपेको विराटनगरमा चिसो निक्कै बढेको छ । चिसोसँगै विराटनगरका विभिन्न स्थानमा आगो बालेर ताप्न थापिएको छ ।
जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगर एयरपोर्टका प्रमुख विकास देउजाका अनुसार बिहीबार न्यूनतम तापक्रम ८ दशमलव १ मापन गरिएको छ । यो बुधबार साँझ ५ः४५ बजेदेखि बिहीबार बिहान ८ः४५ सम्मको मापन हो ।
बिहीबार पुरै कुहिरोले छोपेको विराटनगरको मौसम शुक्रबार समेत यस्तै रहने अनुमान गरिएको छ । चिसोसँगै बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षित तथा न्यानो बनाएर राख्न आवश्यक रहेको सुझाव छ ।
चिसो तथा शिलतहरका कारण अतिविपन्न परिवारलाई समस्या परेको छ । न्यून आर्थिक आयआर्जन भएका घरपरिवारमा जाडोका कारण समस्या देखिएको हो ।