विराटनगर । छोरा नजन्माएको आरोपमा विराटनगर–१० को एक परिवारले छोरा–बुहारीलाई नै घरनिकाला गरिदिएको छ । विवाह गरेको ९ वर्षसम्म हुँदा तीन छोरी जन्मिएका छन् । जसमध्ये पहिलो छोरीको ११ दिनमै निधन भएको थियो । दोस्री ४ वर्ष र तेस्री छोरी २ वर्षको भएपछि आफ्नै परिवारले घर निकाला गरिदिएको पीडित शिवकुमार रायले गुनासो गरेका छन् ।
छोरा शिवकुमारका अनुसार बुबा शनिश्च राय मिटर ब्याजमा पैसा लगानी गर्दछन् । उनले आफ्नी श्रीमती राधिकालाई बारम्बार दवाव दिएपछि अंश मागेर छुट्टै बस्नका लागि अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालतमा मुद्दा बिचाराधिन हुँदा उनीहरु आफ्नो घर छोडेर माइत–ससुरालीको शरणमा पुगेका छन् ।
परिवारको नाममा एकमुष्ठ रहेको जग्गा विराटनगरका विभिन्न स्थानमा छ । तर, छोरा–बुहारीलाई जग्गा दिएर छुट्टै बसाउन नचाहेका कारण उनीहरुको सडक बास भएको गुनासो गर्दछन् । छोरा शिवकुमारका अनुसार छोरी जन्माएकै कारण कुनै खर्च दिइने गरिएको छैन ।
विराटनगर–१० शान्तिचौकमा ७.५ धुरमा घरसहितको जग्गा छ । त्यस नजिकै १३ धुर, विराटनगर–८ मा पाँचधुर जग्गा र घर रहेको छ । त्यहि वडामा एक कठ्ठाको टुक्रा र ७.५ धुरको अर्को टुक्रा जग्गा रहेको छ । त्यस बाहेक कटहरी गाउँपालिकामा ९ कठ्ठा समेत जग्गा रहेको परिवारले बुहारीबाट छोरो नजन्मिएको भन्दै छोरालाई अंश दिईन अस्वीकार गर्दै आएको हो । आफैंले विवाह गरेर ल्याएकी श्रीमतीलाई छोड्न सक्दिन, उसलाई नछोड्दासम्म परिवारले अंश दिदैन पीडित शिवकुमारले भने–६ ठाउँमा जग्गा छ तर दिन मान्दैनन् । उनले श्रीमती राधिकाको नामबाट अंश मुद्दा हालेपछि बुबा शनिश्च रायले ३० लाख रुपैँया लिएर अंश बुझेको कागज गर्न दवाव दिदैं आएका छन् । त्यसमा माओवादीका नेता राजेन्द्र मण्डलले भनेको नमाने जसरी पनि फसाउने धम्की दिदैं आएको पीडितको भनाई छ ।
विराटनगर–१२ को ससुराली घरमा बस्दै आएका दम्पतीलाई अहिले अर्को आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा शिवकुमार र राधिकाको कुटपिटबाट बहिनीको गर्भ खेर गएको आरोप छ । त्यस अगाडी आमालाई कुटपिट गरेको भन्दै शिवकुमार विरुद्ध उजुरी परेको थियो । उनका भाई सन्जय रायसँग भएको झगडामा बहिनी र आमालाई मुछेर जर्बरजस्ती फसाउन खोजिएको उनको दावी छ ।
उनले बुबाले आफ्नो नाममा नभएर आफ्ना नाबालिक छोरीहरुको नाममा हुनेगरि अंश दिनुपर्ने माग गरेका छन् । अहिलेसम्म कुनै पनि हक र जिम्मेवारी नपाएको भन्दै उनले आफू ३४ वर्षको हुँदासम्म गरेको कामको मूल्यांकन समेत नगरिएको भन्दै गुनासो गरेका छन् ।
बुबा शनिश्च रायले आफ्नो छोराको नराम्रो लत भएकोले अंश दिन नसकेको बताएका छन् । उनले आफू घरमा नभएको बेला मादक पदार्थ पीएर घरमा आमा र बहिनीलाई हिर्काएको आरोप छ । त्यहि कारणले आफ्नी छोरीको गर्भ खेर गएकोले त्यस विरुद्ध उजुरी हाल्नु परेको बताएका छन् । तर, शिवकुमारले भने अब आफ्नी श्रीमतीबाट कुनै सन्तान जन्मिदैन, त्यसैले यो सब हेला सहनु पर्ने अवस्था आएको हो ।