विराटनगर। नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को पहिलो ब्याचलाई प्रमाणपत्र वितरण गरिएको छ ।
नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा नबिल एसएसईका पहिलो ब्याचका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो ।
बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघिल्लो वर्षदेखि ‘नबिल स्कुल अफ सोसियल इन्ट्रप्रेनरसिप (नबिल एसएसई)’ कार्यक्रम सुरु गरेको हो । नबिल एसएसईअन्तर्गत सातै प्रदेशका युवाहरूलाई उद्यमशीलता विकासका लागि तीनमहिने कोर्स प्रदान गर्छ । यसका लागि बैंकले सातै प्रदेशका विभिन्न कलेजहरूसँग सम्झौतासमेत गरेको छ ।
नबिल एसएसईले प्रदेश १ अन्तर्गत महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी तथा विभिन्न क्षेत्रका उद्यमी बन्ने सोच भएका २५ जना युवाहरूलाई उद्यमशीलता विकासको तालिम दिईएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र नबिल बैंकका प्रदेश प्रमुख सुबोध लोहनीले कोर्स लिएका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । कार्यक्रममा बोल्दै महानगरका मेयर कोइरालाले उक्त तालिमले उद्यमशीलता विकास गर्ने कार्य व्यवहारीक रहेको र यस्ता कार्यमा महानगर सहकार्य गर्ने तयार रहेको उनले बताए ।
उक्त अवसरमा बैंकका प्रदेश प्रमुख लोहनीले युवाहरू रोजगारीका लागि विदेश जाने संख्या बढिरहेको उल्लेख गर्दै ‘नबिल एसएसई’जस्ता कार्यक्रमले उद्यमशीलता विकास गर्ने र युवालाई स्वदेशमै काम गर्न उत्प्रेरणा तथा अवसर दिलाउने बताए । नबिलले सातै प्रदेशमा ‘नबिल एसएसई’ कार्यक्रम अघि बढाएको बताउँदै यसबाट युवाहरूमा उद्यमशीलता विकास गर्न तथा उनीहरूलाई उद्यमी बन्न प्रोत्साहन गर्ने बताए । युवाहरूको क्षमता तथा दक्षता अभिवृद्धिका लागि नबिलले तालिम तथा प्रशिक्षण, वित्तीय सहायता र वित्तीय साक्षरता प्रदान गर्न तत्पर रहेको उनले बताए ।
कार्यक्रममा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रमुख डा. बाबु राम तिमल्सिना नबिल बैंकले एसएसई कार्यक्रमका लागि महेन्द्र मोरङ क्याम्पसलाई छनोट गरेर विद्यार्थीलाई कोर्स दिएकोमा धन्यवाद दिए । यस कार्यक्रमले युवाहरूलाई उद्यमशीलताबारे जानकारी दिने मात्रै नभई उद्यमी बन्न प्रेरितसमेत गर्ने उनले बताए ।
समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक, सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा उद्योग संगठन मोरङका महानिर्देशक चुडामणी भट्टराई , एनवाईईएफका अध्यक्ष राघब कोइराला ,ग्रीन टायरका निर्देशक बिनित सिंघानिया ,सहज कार्यक्रमका मुकेश कुवर ,बन्जरा एग्रोका सुस्मा शर्मा ,प्राध्यापक संघका उपसभापति बिरेन्द्र कुमार झा ,प्रा. डा जीवन कुमार ढकाल ,शैलेन्द्र सिवाकोटी ,डा. चन्द्र तिम्सिना ,कृष्ण दाना उद्योगका निर्देशक रोमन, त्रिस्णा रेस्टुरेन्टका अमन शाह ,नबिल बैंकका शाखा प्रमुखहरु गुरुराज रेग्मी ,टोप प्रसाद वस्ती ,समिर श्रेष्ठ ,सुमन निरौला ,महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस सहायक क्याम्पस प्रमुख शिवनारायण चौधरी ,विद्यार्थी प्रतिनिधिहरु नेबिसंघका सभापति जसबन्त पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रमका निर्देशक तथा महेन्द्र मोरङ क्याम्पस उप-प्राध्यापक वेदप्रसाद संग्रौलाले जानकारी दिए।