विराटनगर । विराटनगर महानगरपालिकाले महानगरलाई सफाई, सुन्दर र व्यवस्थित गर्ने अभियानलाई तीव्रता दिएको छ ।
नियमविपरीत पसल अगाडि निर्माण गरिए संरचना हटाएको महानगरले अब सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु गरेको छ । नगर प्रहरी र सफाईका कर्मचारीले मेयर नागेश कोइरालाको निर्देशनमा निर्माण सामग्री हटाउन सुरु गरेका हुन् ।
सरसफाई शाखा र नगर प्रहरीको समन्वयमा मंगलबारदेखि विराटनगरका विभिन्न सडक किनार र फुटपाथमा राखेका सामग्री हटाउन थालेको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर-८ स्थित धर्मबाँध रोडमा राखिएका बालुवा, गिट्टी, इँटा, टाली हटाइएको छ । महानगरको जेसीवीले ट्रयाक्टर र ट्रकमा राखेर महानगरले फुटपाथबाट निर्माण सामग्री उठाएको छ ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित विकसित बनाउने महानगरको अभियानमा कसैसित पनि सम्झौता नहुने मेयर कोइरालाले बताए । उनले सबैको साथ र सहयोगले विराटनगर सफासँगै व्यवस्थित बनाउने दाबी गरे । “विराटनगरलाई सफा र व्यवस्थित बनाउने महानगरको अभियानमा हामी कसैसित पनि सम्झौता गर्दैनौं,” मेयर कोइरालाले भने, “यो अभियानमा महानगरवासीको पूणर् साथ रहन्छ पक्कै ।”
निर्माण सामग्री हटाउन महानगरले सार्वजनिक सूचनासँगै पटक-पटक माइकिङसमेत गरिसकेको छ । महानगरको सूचनालाई बेवास्ता गरेर आवतजावतलाई नै असर पर्ने गरी राखिएका निर्माण सामग्री हटाइएको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।