किताबहरु बोल्दैनन्
किबोर्डमा कुनै पात्रहरुले भन्दैनन् कथा
कलमको निपबाट कुनै कविताहरु चुहिएका छैनन्
यस्तो बेला आलश्यको ओछ्यानबाट
म हेर्छु झ्याल बाहिरको आकाश,
किरियापुत्री जस्तो सेताम्मे टाउको लिएर
बसिरहेको छ – कोहलपुर ।
तर दशविघाको साँघुरा सडकहरुमा
हिडिरहन्छन् चिसा मानिसहरु,
मुखबाट तातो वाफको आकृतिहरु उडाउँदै ।
काखीभित्र खुसाएर कठ्यांग्रिएका हात
हिडिरहेकी बुढि थरुनीको टाउकोमा स्तब्ध छ – छिट्वा
र रायोको सागमा ठोक्किएर पग्लिरहेको छ कुहिरो ।
पञ्जामा हात लुकाएका स्कूले नानीहरु
चौकमा पर्खिरहेछन् भ्यान,
थर्थराईरहेछन् उनीहरुका ओठ
र परेलामा शीतका थोपाहरु आराम गरिरहेछन् ।
चराका गीतहरु छैनन्
जहाज उडेका खबरहरु पनि छैनन् ।
बाक्लो हुस्सुको चिसो च्यादर ओढेर
आँखा मात्र देखाइरहेछ - कोहलपुर ।
शहरै थर्किने गरि बुलेट कुदाउने ति अल्लारेहरु
खै ! कुन चिया पसलमा तानिरहेछन् चुरोट ।
र राजमार्गमा बुढा ट्रकहरु मात्र छन्
पँहेला आँखा बालेर कतै टाढा... हिँडेका ।
यस्तो बेला
नगरपालिकाले खसालेका काठका ठुटाहरुमा
चिसा दिनहरु सल्काएर,
सिंगो हिउँद तापिरहेको छ - कोहलपुर ।
म भने कानेटोपी भित्र सोँचिरहेछु
कि बास्तोला अंकलले तारिरहेछन् -समस्याका समोसाहरु ।
न्यूरोडमा रहमानले तताइरहेछ -बाध्यताको विरयानी ।
साझा चौकको गल्ली भित्र
काजोल व्यूटि पार्लरमा
सेतो हाफ ज्याकेट लगाउने त्यो केटि के गरिरहेकी होला ?
बसपार्क अगाडि
कस्ले किनिदेला – प्रेमा भाउजुका रसिला सुन्तलाहरु ?
कोहलपुर भन्दा थोरै पर बसेर कवि पादुका
कुन प्रेमीकाको फ्रस्टेशनमा लेखिरेछन् - अप्ठ्यारा कविताहरु !
यस्तो हुस्सुको सुरुङ भित्र पनि
साईकलको घण्टी बजाउँदै अजामत कवाडियाको नाति
आलुसँग साट्ने फलाम खोज्न दौडिरहेछ ।
पुजा उठेको साँझको मन्दिर जस्तो
प्रेमीकाले फ्याकेर हिँडेको फूल जस्तो
शान्त तर निरस छ कोहलपुर
भूकम्पले हल्लाएर छोडेको शहर जस्तो - त्रसित ।
यस्तो बेला
आमाको नम्बर बजिरहेछ मोबाईलमा
र मैले सम्झिरहेछु राजधानीमा बस्ने प्रेमीकालाई
जस्ले बुनिरहेकी छ एउटा मफलर – अर्को हिउँदका लागि ।