विराटनगर । साझेदारलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक शहेन्शा सिद्दिकी नामले परिचित अब्दुल खत्ताब पुर्पक्षको लागि जेल चलान भएका छन् ।
अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा पक्राउ परेका २४ वर्षीय खात्ताब मोरङ अदालतले बिहीबार पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो ।
न्यायाधीश राजेशकुमार कटुवालको इजालशको आदेशपछि खत्ताब मोरङ कारागार चलान भएका छन् । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार खत्ताबका कार चालक विराटनगर १५ भट्टा टोल बस्ने २५ वर्षीय अजय भन्ने जय कुमार रामलाई एक लाख धरौटिमा छोडन आदेश गरिएको छ ।
विराटनगरका उद्योगपति अरुणकुमार राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्गको मुद्दा दर्ता भएको थियो । राठी र खत्ताब साझेदार मिडिया सञ्चाालक हुन् । मोरङ प्रहरीले खत्ताबलाई विराटनगर १ बाट मङ्सिर २९ गते पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले खत्ताबविरुद्धको प्रतिवेदन शुक्रवार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।
राठीलाई मङ्सिर १४ गते नेपाल टाइम्सको स्टुडियो मा लगी शरीर बन्धक बनाई १५ लाख रुपैयाँ असुल गरेको खत्ताब विरुद्ध आरोप छ । राठीले तीन वर्ष अगाडी मिडियमा २० प्रतिशत शेयर खरिद गरेका थिए ।