विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस ‘वेटिङ्ग इन गभर्मेन्ट’ को अवस्थामा रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको ‘च्याप्टर’ समाप्त भएको बताउँदै जुनसुकै बेला सरकारको नेतृत्व गर्ने अवस्थामा रहेको बताएका हुन् ।
काँग्रेस विपक्षी रहेको बताउँदै उनले संसदमा प्रतिपक्षीको रुपमा आफ्नो पार्टीको भूमिका रहने बताएका छन् । उनले जुनसुकै बेला सरकार गिराउने प्रयासमा काँग्रेस रहने बताए । नेता कोइरालाले आफ्नो समूहले भर्खरै काठमाडौँमा आफ्नो वैचारिक समूहको बैठक राखेको र त्यो बैठकमा पनि विश्वासको मतको विषय उठेको जानकारी दिए।
नेपाली कांग्रेसले राष्ट्रपतिका पदमा उम्मेदवारी दिने जानकारी दिए। उनले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारलाई विजयी गराउन आफूले भूमिका गर्ने र सबै दलसित छलफल गर्ने उल्लेख गरे।