विराटनगर । प्रदेश सरकार गठन भएको एक महिना पुग्न एकदिन मात्रै बाँकी छ। अर्थात २५ गते एक महिना पुग्छ । तर, अझैसम्म सरकारले विजनेस दिन सकेको छैन । जसले गर्दा प्रदेश १ को प्रदेशभा बैठक विजनेसविहीन बनेको छ। पुस ३० मा उपसभामुख चयन गरेपछि प्रदेशसभा बैठक स्थगन भएको थियो ।
बैठक स्थगन भएको तीन सातापछि सोमबार दिँउसो १ बजे हिउँदे अधिवेशनको छैटौं बैठक बसेको थियो । सोमबार बसेको बैठक ८ मिनेटमा नै सकियो । उक्त बैठकले यसअघि प्रदेशसभामा प्रस्तुत प्रदेश निजामती सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश प्रदेशसभाले स्वीकृत गरेको थियो । प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम १३ बमोजिम सभामुखको अध्यक्षतामा कार्य व्यवस्था परामर्श समिति गठन समेत भएको थियो । जसमा आन्तरिक मामिला तथा कानुनमन्त्री तथा उपसभामुख समेत सदस्य रहनेछन्। त्यसो त सरकारले संसदलाई विजनेश दिने गृहकार्य गरिरहेको प्रदेश १ सरकारका प्रवक्त समेत रहेका उद्योग, कृषि तथा सहकारी मन्त्रीभक्ति सिटौलाको दाबी छ ।
दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकसम्म आइपुग्दा संसदमा कुनै पनि विधेयक दर्ता भएको छैन । अघिल्लो सरकारले तयार पारेको प्रदेशको कामकाजी भाषाका बारे विद्येयक पनि बाँकी नै छ । यसबारे पनि कुनै छलफल भएको छैन । यसबोहक संसदका विषयगत समितिहरु पनि गठन नहुँदा संसदलाई विधेयक दिने र जिम्मेवार कामहरु प्रति केन्द्रित नभएको भन्दै सत्तामा नै रहेका केही सांसदहरुले असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । प्रदेशसभालाई विजनेस दिने कुरामा सरकार गम्भिर नभएको समेत प्रदेशसभामा प्रतिनिधत्व गर्ने सांसदको आरोप छ । आज अर्थात मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख खापुङको सम्बोधन सँगै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।
सकिएन मुख्यमन्त्रीको बधाई
पुष २५ गते नियुक्त भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गरेदेखि यता अझै शुभकामना र बधाई थाप्ने कार्यक्रम नसकिएको उनी नकिटकै सांसदहरु बताउँछन् । त्यसो त बधाई कार्यक्रमले काममा अवरोध आएको विषय मुख्यमन्त्री कार्की स्वयम्ले पनि स्विकार्दै आइरहेका छन् । उनले एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा बधाई, शुभकामना ग्रहण गर्ने कार्यक्रमले काममा बाधा आएको स्विकार्दै त्यसलाई सुधार गर्ने पनि बताएका थिए । उनले भेट्न बधाई दिन आएकालाई कुराएर फर्काउन मनले नमान्ने समेत बताएका थिए ।
यता, प्रदेश १ सरकारका प्रवक्ता एवम् मन्त्री सिटौलाले प्रदेशसभालाई पुरै विजनेस दिने काममा लागि रहेको बताए । उनले सदनमा पुरै विजनेस दिनुपर्छ भनेर आफूहरु लागिरहेको बताउँदै भने,‘विभिन्न ऐन बाँकी छ ,अबको सदनमा विजनेस दिन्छौँ ।’ प्रदेश सरकारले फागुन ५ देखि ७ गते सम्ममा प्रदेशसभालाई विजनेस दिने तयारी रहेको बताए ।
मन्त्री सिटौलाले मन्त्रालयहरुको पूर्ण संरचनाको काम हुँदै गरेको र अझै पूणर्रुपमा सम्पन्न हुन बाँकी रहेको बताए । ‘ १३ वटा मन्त्रालयलाई घटाएर ९ वटा बनाएका छौं । यसको व्यवस्थापन गर्ने काम भइरहेको छ। ’ उनले आवर विराटनगरसँग भने,‘प्रदेश सरकारले फागुन ५ देखि ७ गतेसम्म विजनेस तयार पारेर सदन बस्छ ।’