विराटनगर । भारतबाट अवैध रुपमा मालवस्तु भित्र्याउने तस्करहरुले साँझ, रात र बिहानीपखलाई मौकाको रुपमा खुल्ला सीमा कटाउने समय बनाउने गरेका छन् । दिनभर घरायसी प्रयोजनका सामान खरिद गर्न जोगबनी पुगेर फर्कनेको भीड लाग्ने गरेको नाका सुनसान हुने समयलाई तस्करी गर्नेहरुले मौका मान्ने गरेका हुन् ।
प्रहरीले पक्राउ गर्ने ठूलो परिमाणका वस्तु बिहान, साँझ र रातको समयमा धेरै रहेका छन् । फाटफुट दिउँसो पक्राउ परेका वस्तु व्यापारिक प्रयोजनका कम हुने गरेका छन् । तर, मौकामा भित्र्याउनेहरुले व्यापारिक प्रयोजनका लागि भित्र्याउने गरेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय रानीले मंगलबार राती १०ः१५ बजे विराटनगर–१५ हुलास चौकमा भारतबाट नेपाल भित्र्याउँदै गरेको एकलाख ८० हजार मूल्य बराबरको सामाग्री बरामद गरेको छ । गर्मीको मौसममा प्रयोग गरिने २०० थान हाफपेन्ट बोकेर आउँदै गरेका कारोबारी फरार रहेपनि सामान भने प्रहरीले नियन्त्रण गरेको हो । यसैगरी बुधबार साँझ साढे ५ बजे विराटनगर–१५ को रामजानकी मन्दिर छेउबाट सामान बरामद गरिएको छ ।
भारतबाट ल्याएको सामान जिल्ला प्रहरी कार्यालयको टोलिले बरामद गरेर थप अनुसन्धान भईरहेको छ । ८७ हजार मूल्य बराबरको ४० केजी चिनी, कुर्थासुरुवाल, मटर समेत ल्याउँदै गरेको अवस्थामा प्रहरी पुगेपछि सामान छोडेर कारोबारी फरार भएको दावी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा नयाँ प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक दिपक पोरखेलले कुनैपनि आपराधिक घटना नियन्त्रणलाई प्राथमिकतामा राखिने बताएका छन् । उनले बुधबार नै परिचायत्मक कार्यक्रम राखेर पत्रकारसँग अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने बताएका थिए ।