विराटनगर । मलमासको असरले नयाँ वर्ष २०८० सालका पर्वहरु १५ दिन ढिला आउने भएका छन् । हिन्दुहरुले मनाउने सबै चाडपर्व १५ दिन पछाडि सरेका हुन् । नयाँ सालमा तीज असोजमा पुगेको, दसैं र तिहार कात्तिकमा सरेको हो ।
पन्ध्रदिन पर सर्दा हरितालिका तीजको व्रत असोज १ गते परेको छ । २०७९ सालको तीज भदौ १४ गते थियो । त्यसैगरी २०८० सालको घटस्थापना असोज अन्तिम, अर्थात् असोज २८ गते परेको छ । फूलपाति कात्तिक ४ र विजयादशमी कात्तिक ७ गते परेको छ । २०७९ सालमा असोज १० गते नै घटस्थापना मनाइएको थियो । फूलपाती असोज १६ र विजयादशमी असोज १९ मा मनाइएको थियो ।
तिहार भाइटीका २०७९ मा कात्तिक १० गते परेको थियो । नयाँ वर्षको भाइटीका कात्तिक २९ गते पुगेको छ । यस वर्ष कात्तिक १३ मा मनाइएको छठ पर्व २०८० सालमा भने २० दिनपछि अर्थात् मंसिर ३ गते पुगेको हो ।
साउनमा अधिक मास परेकाले यस वर्षका चाडपर्व पछि सरेका हुन् । असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको छ ।
यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ । भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै परेका कारण नयाँ वर्षका चाडपर्वहरु अघिल्लो वर्षको भन्दा २० दिन पछाडि धकेलिएका छन् ।
२०८० सालमा चैते दसैं नै गायब भएको छ । २०७९ सालको चैते दसैं चैत १७ गते परेको छ भने २०८० सालको चतुर्थी तिथिमै चैत्र मास समाप्त हुने भएकाले चैते दसैं २०८१ सालको वैशाखमा सरेको छ ।